डेनमार्क र नर्वेमा अक्सफोर्डको खोपमाथि रोक
- फाल्गुन २८, २०७७
- 0
एजेन्सी/ डेनमार्क र नर्वेले अक्सफोर्डले निर्माण गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन ‘ऐस्ट्रेजेनेका’ माथि रोक लगाएका छन्। स्मरणीय छ, नेपालमा प्रयोग भइरहेको कोरोना भ्याक्सिन कोभिशिल्ड ऐस्ट्रेजेनेकाकै भारतीय संस्करण सीरम इन्सिटिट्युटले बनाएको हो। डेनमार्कका स्वास्थ्य मंत्री मैग्नस हुनिकेले यस विषयक जानकारी दिदै १४ दिनका लागि ऐस्ट्रेजेनेकाको भ्याक्सिन प्रयोगमा रोक लगाएको भनेका छन् ।
नर्वेका स्वास्थ्य अधिकारीहरुले भने अनुसार भ्याक्सिन प्रयोगले एकजनाको मृत्यु भएको छ । र, यसैगरी भ्याक्सिन प्रयोगले रगत जम्ने केस देखा परेका छन् । उता आस्ट्रियामा ‘कोग्यूलेशन’ विकारबाट एकजनाको मृत्यु भएको छ ।
डेनमार्क हेल्थ अथोरिटीका निर्देशक सोरेन ब्रोस्टोम भन्छन्, ‘हामीले तथा डेनमार्क मेडिसिन एजेन्सी दुबैले डेनमार्क लगायत अन्य यूरोपीय देशमा भ्याक्सिनबाट भएका रिएक्शनको जबाब दिनु पर्ने हुन्छ।’
स्वास्थ्य मन्त्री मैग्नस हुनिकेले ट्विटरमा लेखेका छन्, ‘भ्याक्सिनको प्रयोगलाई आउने १४ दिनका लागि निलम्बित गरिएको छ।’
विश्वभरी देखा परिरहेका कोरोनाका नयाँ भरिएन्टमा पनि ऐस्ट्रेजेनेका भ्याक्सिनको प्रभावकारिता अत्यन्त न्यून रहेको छ। केही दिन अघि दक्षिण अफ्रीकामा देखिएको नयाँ कोरोना भरिएन्टका विरुद्ध कोभिशिल्ड भ्याक्सिन निष्प्रभावी रहेको समाचारहरु आएका थिए। दक्षिण अफ्रिकाले कोभिशिल्ड भ्याक्सिन फिर्ता गर्ने समाचार पनि प्रसारित भएका थिए । यस सम्बन्धमा थप केही जानकारी आएका छैनन् । भारतमै कोरोनाका नयाँ भरिएन्टविरुद्ध भ्याक्सिन प्रभावी नभएको कुरा उठ्न थालेका छन् ।
भारतमा विगत ८–१० दिन देखि कोरोना संक्रमणका नयाँ केस आउने दर वृद्धि हुँदै गइरहेको छ। गत २४ घण्टामा भारतमा कोरोनाका नयाँ २२ हजारभन्दा बढी केस देखा परेका छन् र यसै अवधिमा त्यहाँ १२६ जनाको मृत्यु भएको छ ।













