अस्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मरिसन निर्वाचित, टर्नबुल पदमुक्त
- भदौ ८, २०७५
- 0
सिड्नी/ अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन निर्वाचित भएका छन् । सत्तारुढ लिबरल पार्टीभित्र भएको नाटकीय विद्रोहसँगै मरिसन प्रधानमन्त्री बनेका हुन् ।
सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।
पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गर्दै आएका थिए ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्री रहेका मरिसनले टर्नबुललाई ४५-४० मतान्तरले पराजित गरेका थिए ।
टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिएका छन् ।
तीन वर्षदेखि प्रधानमन्त्री रहेका टर्नबुलमाथि पार्टीभित्र पहिलो संकट गत मंगलवार नै आइपरेको थियो, तर त्यसबखत उनी अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिएका थिए । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिएका थिए। पार्टी भित्र मै असहयोगका कारण सरकारमाथि नै संकट आइलाग्यो र टर्नबुल सत्ताबाट बाहिरिएका छन् । रासस













