भोटेकोशी बाडिपिडितको पुनर्स्थापनाको लागी एनआरएन नाइजेरिया र एनआरएन घानाको तर्फबाट रु ८० लाख बराबरको चेक हस्तानतरण

news-details

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि अफ्रिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न शाखाले सहयोग अभियानलाई तीव्रता दिएका छन्। यही क्रममा एनआरएनए नाइजेरिया र घानाले आज अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी कुल ८० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

एनआरएनए नाइजेरियाले नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानबाट संकलित ७७ लाख रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको हो।

सहयोग रकम एनआरएनए नाइजेरियाका पूर्वअध्यक्षहरू विश्वास पौडेल र दीपक कर्ण, पूर्व आईसीसी सदस्य मन थापा, संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष अञ्जु पौडेलले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

त्यसैगरी, एनआरएनए घानाका तर्फबाट ३ लाख रुपैयाँको सहयोग रकम भानु पाठकले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका छन्।

भोटेकोशी बाढीपछि प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनए शाखाले यसअघि पनि आर्थिक तथा आवश्यक सामग्री सहयोग गरिसकेका छन्।

यसअघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट १३ लाख, तान्जानियाबाट २ लाख ५० हजार, दक्षिण अफ्रिकाबाट १ लाख ५० हजार र बोत्सवानाबाट ५० हजार रुपैयाँ बैंकमार्फत पठाइसकिएको छ।

त्यस्तै, एनआरएनए युगान्डाले ३५ लाख रुपैयाँभन्दा बढी मूल्यका टेन्ट, ग्यास सिलिन्डर तथा चुल्हो प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकेको छ। एनआरएनए केन्याले पनि १० लाख रुपैयाँ नगद सहयोग पठाउने तयारी गरेको छ।

अफ्रिकाका अन्य देशस्थित एनआरएनए शाखा तथा नेपाली समुदायबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको जनाइएको छ।

भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको अवस्थामा विदेशमा रहेका नेपाली समुदायले आफ्नो मातृभूमिका प्रभावित परिवारको पीडामा साथ दिँदै राहत र पुनःस्थापनाका लागि सहयोग जुटाइरहेका छन्। देश बाहिर रहेका नेपालीको यो ऐक्यबद्धता विपत्तिको समयमा नेपाल र नेपालीबीचको सम्बन्ध तथा सामूहिक जिम्मेवारीको बलियो उदाहरण बनेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया