एनआरएनए एसिया प्यासिफिक सम्मेलन ‘आरोहण’ : सांसदसहितको टोली ग्वाङ्झाउ प्रस्थान

news-details

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ मा सहभागी हुन प्रतिनिधिसभा सदस्य तथा पत्रकारसहितको टोली चीनको ग्वाङ्झाउ प्रस्थान गरेको छ।

सम्मेलनमा सहभागी हुन प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल र मनिष झा, नेकपा एमालेका प्रमुख सचेतक ऐन महरसहित पत्रकारहरूको टोली चाइना साउदर्न एयरलाइन्सको विमानमार्फत ग्वाङ्झाउ प्रस्थान गरेको हो।

सम्मेलन आगामी १५ देखि १७ अगस्ट २०२६ सम्म चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा आयोजना हुँदैछ। सम्मेलनका विभिन्न सत्रमा सहभागी नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा नेपालमा व्यापार तथा लगानी प्रवर्द्धन, लजिस्टिक्स क्षेत्रको विकास, एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरूको सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, आप्रवासी कामदारका अधिकार, सीमापार मानव बेचबिखन नियन्त्रण तथा गैरआवासीय नेपाली नागरिकताको निरन्तरता र अधिकारलगायतका विषयमा छलफल हुनेछ।

त्यस्तै, पर्वतीय तथा स्वास्थ्य पर्यटनमार्फत नेपालको पर्यटन प्रवर्द्धन, महिला सशक्तीकरण, दोस्रो पुस्ताका नेपालीको पहिचान तथा नेतृत्व विकास र एनआरएनएको विश्वव्यापी सञ्जाल विस्तारका विषयमा समेत छुट्टाछुट्टै सत्र सञ्चालन हुनेछन्।

एनआरएनएको सांगठनिक पहिचान र आगामी रणनीतिसम्बन्धी ‘रि–ब्रान्डिङ’ सत्र सम्मेलनको प्रमुख आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

विभिन्न प्लेनरी सत्रपछि १६ अगस्टमा ‘ग्वाङ्झाउ घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ। सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिहरूका लागि ग्वाङ्झाउबाट करिब ७०–८० किलोमिटर टाढा रहेको छिङयुआनस्थित प्रसिद्ध गुलोङ गोर्ज ग्लास ब्रिज (Gulongxia) को अवलोकन भ्रमणसमेत आयोजना गरिनेछ।

आयोजकका अनुसार सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्दै लगानी, पर्यटन, सुरक्षित वैदेशिक रोजगार तथा नेपालको आर्थिक समृद्धिमा डायस्पोराको योगदान बढाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया