‘आरोहण २०२६’ : एनआरएनएको ११औँ एसिया प्यासिफिक सम्मेलनको तयारी पूरा
- साउन २७, २०८३
- 0
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६– हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ को सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलन आगामी १५ देखि १७ अगस्ट २०२६ सम्म चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा आयोजना हुँदैछ।
एनआरएनए, ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजक समिति तथा एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनको मुख्य आयोजनामा हुने सम्मेलनमा नेपाल र एसिया प्यासिफिक क्षेत्रका गैरआवासीय नेपालीहरूको सहभागिता रहनेछ।
१५ अगस्टमा हुने उद्घाटन समारोह एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कंडेलको अध्यक्षतामा हुनेछ। कार्यक्रममा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित विभिन्न राजनीतिक दलका सचेतक, सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा एनआरएनएका संस्थापक एवं अग्रज नेतृत्वको उपस्थिति रहने आयोजकले जनाएको छ।
सम्मेलनमा नेपालमा व्यापार तथा लगानी प्रवर्द्धन, लजिस्टिक क्षेत्र, एसिया प्यासिफिक क्षेत्रका एनसीसीको सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, आप्रवासी कामदारको अधिकार, सीमापार मानव बेचबिखन नियन्त्रण, गैरआवासीय नेपाली नागरिकताको निरन्तरता तथा अधिकार लगायतका विषयमा छलफल हुनेछ।
त्यस्तै, पर्वतीय तथा स्वास्थ्य पर्यटनमार्फत नेपालको पर्यटन प्रवर्द्धन, महिला सशक्तीकरण, दोस्रो पुस्ताका नेपालीको पहिचान तथा नेतृत्व विकास र विश्वव्यापी सञ्जाल विस्तारका विषयमा समेत छुट्टाछुट्टै सत्र सञ्चालन हुनेछन्। एनआरएनएको सांगठनिक पहिचान र आगामी रणनीतिसम्बन्धी रि-ब्रान्डिङ सत्र पनि सम्मेलनको प्रमुख आकर्षणका रूपमा रहनेछ।
सम्मेलनका विभिन्न प्लेनरी सत्रपछि १६ अगस्टमा ‘ग्वाङ्झाउ घोषणापत्र २०२६’ जारी गर्दै औपचारिक समापन गरिनेछ। सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिहरूका लागि ग्वाङ्झाउबाट करिब ७०–८० किलोमिटर टाढा रहेको छिङयुआनस्थित प्रसिद्ध Gulong Gorge Glass Bridge (Gulongxia) को अवलोकन भ्रमणसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्दै लगानी, पर्यटन, सुरक्षित वैदेशिक रोजगार र नेपालको आर्थिक समृद्धिमा डायस्पोराको योगदान बढाउने महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।













