हङकङमा ७३ औँ अन्तर्राष्ट्रिय एभरेष्ट दिवस भव्य रूपमा सम्पन्न, ‘एभरेष्ट रेस्टुरेन्ट’ उत्कृष्ट मोमोको उपाधिबाट सम्मानित
- रोजगारमञ्च
- जेष्ठ १८, २०८३
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ र नेपाल महावाणिज्य दूतावास, हङकङको संयुक्त आयोजनामा ७३ औँ अन्तर्राष्ट्रिय एभरेष्ट दिवसको अवसरमा ‘एभरेष्ट मोमो फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
हङकङस्थित एभरेष्ट रेस्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवा, कूटनीतिक प्रतिनिधि, हङकङ सरकारका अधिकारी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, विदेशी पाहुनाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा आमन्त्रित सम्पूर्ण विशिष्ट अतिथिहरूको शतप्रतिशत उपस्थिति रहेको थियो।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा मनाइने अन्तर्राष्ट्रिय एभरेष्ट दिवसलाई यस वर्ष नेपाली खानाको माध्यमबाट सांस्कृतिक तथा आर्थिक प्रवर्द्धनसँग जोडिएको थियो। परम्परागत औपचारिक कार्यक्रमभन्दा फरक ढंगले आयोजना गरिएको यस उत्सवले नेपाली समुदाय र हङकङको स्थानीय समाजबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजना गरिएको ‘बेस्ट मोमो इन एचके २०२६’ प्रतिस्पर्धामा सातवटा प्रमुख नेपाली रेस्टुरेन्ट सहभागी भएका थिए। प्रत्यक्ष स्वाद परीक्षणमा सहभागी २०० जनाको मतदानका आधारमा ४.१ औसत अंक प्राप्त गर्दै एभरेष्ट रेस्टुरेन्ट एण्ड बारले उत्कृष्ट मोमोको उपाधि जित्न सफल भयो।

उक्त प्रतिस्पर्धा हङकङमा रहेका नेपाली साना तथा मझौला व्यवसायहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो। सहभागीहरूले विभिन्न नेपाली रेस्टुरेन्टका परिकारको स्वाद चाख्दै नेपाली पाककलाको विविधता र गुणस्तरलाई नजिकबाट अनुभव गरेका थिए।
यस अवसरमा ‘एभरेष्ट विशेष संस्करण’ नामक स्मारिका पत्रिकाको औपचारिक विमोचन पनि गरिएको थियो। उक्त प्रकाशनमा सगरमाथाको इतिहास, अग्रज आरोहीहरूको योगदान, नेपाली पर्वतारोहणको गौरवपूर्ण यात्रा तथा नेपाल र हङकङबीचको सम्बन्धका विविध आयामहरू समेटिएका छन्।
कार्यक्रमअन्तर्गत ‘च्याम्पियनको मानसिकता’ विषयमा प्रेरणादायी प्यानल छलफल समेत आयोजना गरिएको थियो। एरिका पुनद्वारा सञ्चालन गरिएको उक्त सत्रमा एनआरएनए हङकङकी महिला संयोजक सत्यवती घतराजले सहजीकरण गरेकी थिइन्। प्यानलमा सगरमाथा आरोही अन्जला राई र निमा दोर्ची शेर्पाले विश्वकै सर्वोच्च शिखर आरोहणका क्रममा भोगेका चुनौती, जोखिम, साहस, अनुशासन र मानसिक दृढताका अनुभवहरू सहभागीहरूसँग साझा गरेका थिए।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईले सगरमाथा नेपालको मात्र नभई सम्पूर्ण मानव सभ्यताको साहस, सङ्कल्प र सफलताको प्रतीक भएको बताइन्।
उनले भनिन्, “एभरेष्ट दिवस मनाउनु भनेको केवल इतिहास सम्झिनु मात्र होइन, नेपाली पहिचान, संस्कृति र हाम्रो सामूहिक गौरवलाई विश्वसामु प्रस्तुत गर्नु पनि हो। मोमो फेस्टमार्फत हामीले नेपाली खानाको स्वादसँगै नेपालको संस्कृति र आतिथ्यतालाई हङकङको बहुसांस्कृतिक समाजसम्म पुर्याउने प्रयास गरेका छौं। यस्ता कार्यक्रमले समुदायलाई एकताबद्ध बनाउनुका साथै नेपाली व्यवसायलाई समेत प्रवर्द्धन गर्छन्।”
नेपाल महावाणिज्य दूतावास हङकङका कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङले सगरमाथाले विश्वभर नेपालको पहिचान स्थापित गरेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्की महिला उपाध्यक्ष राधिका गुरुङ (टिका)ले सगरमाथाले नेपालीहरूको साहस, आत्मविश्वास र संघर्षशीलताको प्रतिनिधित्व गर्ने बताइन्।

उनले भनिन्, “विश्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने शक्ति हाम्रो संस्कृति र साझा पहिचानमा निहित छ। एभरेष्ट दिवस जस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो जरा र इतिहाससँग जोड्ने अवसर प्रदान गर्छन्। नेपाली महिलाहरूको नेतृत्व र सहभागिता बढ्दै जानु समुदायका लागि थप उत्साहजनक विषय हो।”
कार्यक्रममा बोल्दै एनआरएनए हङकङका महासचिव इन्दर पुर्जा पुनले एभरेष्ट दिवस केवल हिमालको उत्सव नभई समुदाय, सहकार्य र पहिचानको उत्सव भएको बताए।
उनले भने, “आज हामीले सगरमाथाको गौरवलाई नेपाली स्वाद, साहित्य र प्रेरणादायी अनुभवहरूसँग जोडेर मनाएका छौं। हाम्रो सबैभन्दा प्रिय परिकार मोमोमार्फत हामीले हङकङमा हिमालयको वास्तविक स्वाद प्रस्तुत गरेका छौं। यसले नेपाली समुदायबीचको एकतालाई बलियो बनाउनुका साथै नेपाली व्यवसायको प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ।”

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङ, हङकङ विधान परिषद्का सदस्य भिन्सेन्ट चेङ, याउ चिम मोङ जिल्ला परिषद्का सदस्यहरू, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू तथा हङकङस्थित एक दर्जनभन्दा बढी नेपाली संघसंस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।
एनआरएनए हङकङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रायोजक, संघसंस्था, स्वयंसेवक तथा सहभागी रेस्टुरेन्टहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।














