एनआरएनएको नेतृत्व सहमतिमा टुंग्याउने प्रयास
शर्मालाई समर्थन गर्दै शेरचनद्धारा वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता
- फाल्गुन २९, २०८२
- 0
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिका आधारमा नयाँ नेतृत्व चयनको प्रयास भैरहेको छ । जस अनुसार अध्यक्षमा उम्मेदवारी दिएका डा. हेमराज शर्मालाई समर्थन गर्दै अर्का प्रत्याशी रोविन शेरचनले बरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन ।
यसअघि बुधबार सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मा र रविन शेरचन तथा रविन बज्राचार्यले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका थिए । बज्राचार्यलाई पनि सहमतिमा ल्याउन अहिले प्रयास भैरहेको छ ।
एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको हो । साथै अन्य पदका लागि पनि सहमति जुटाउने प्रयास भएको बताइएको छ ।
यसअघि १२औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व सहमतिबाट टुंग्याउने प्रयास जारी रहे त्यसमा सहमति जुटन सकेको थिएन । एक पक्षले निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने अडान राख्दा अर्को पक्षले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउदै आएको थियो । यसैबीच मध्यपूर्व क्षेत्रमा विकसित द्वन्द्वका कारण त्यहाँ बसोबास गर्ने नेपालीहरू महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै महाधिवेशन सार्नुपर्ने आवाज पनि उठिरहेको थियो ।
तथापी अन्तिम समयमा सहमतिको वातावरण बन्दै गएपछि एकताको महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको चरणमा पुग्ने आशा जागेको छ । सहमतिमार्फत नेतृत्व चयन भए संघभित्र देखिएको ध्रुवीकरण अन्त्य भई संस्थागत एकता मजबुत हुने अपेक्षा गरिएको छ ।
अध्यक्षका प्रत्याशी शर्माले प्रवासी नेपालीहरूको अधिकार, हित र पहिचानका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न तथा विश्वभर रहेका नेपालीहरूबीच एकता, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउँदै संघलाई प्रभावकारी रूपमा अघि बढाउन सहमतिको नेतृत्वमा जोड दिइएको बताए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षका प्रत्याशी शेरचनले आफु सुरुदेखि संस्था एकताबद्ध हुनुपर्ने पक्षमा रहेकाले संस्थाको हितका लागि अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएर सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएको बताए ।
सहमतिको वातावरण बन्दै गएको बताउदै अध्यक्ष महेश श्रेष्ठले अहिलेको आवश्यकता सहमति नै भएको बताए । ‘अहिले शेरचनजीले उम्मेदवारी फिर्ता लिनुभएको छ र अन्य आकांक्षीहरूलाई पनि मिलाएर चुनाव नगर्नेतर्फ हामी प्रयासरत छौ’ उनले भने ।
केही महिनाअघि विभिन्न समूहमा विभक्त एनआरएनए एकीकृत भएको थियो भने सोही एकीकृत एनआरएनएको शनिबारदेखि १२ औँ महाधिवेशन सुरु हुँदैछ । यसैबिच सहमतिको वातावरण बनेसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ ।













