एनआरएनए एशिया–प्यासिफिक आरसी पदमा मलेसियाबाट नारायण अधिकारीको उम्मेदवारी
- फाल्गुन २८, २०८२
- 0
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–आइसिसी) को आगामी कार्यकाल २०२५–२०२७ का लागि एशिया–प्यासिफिक क्षेत्रीय संयोजक (आरसी–एशिया) पदमा मलेसियाबाट नारायण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
एनआरएनएको आगामी विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला अधिकारीले एशिया क्षेत्रीय संयोजक पदका लागि आफ्नो उम्मेदवारी अनलाइनमार्फत औपचारिक रूपमा दर्ता गराएको जानकारी दिएका हुन्।
लामो समयदेखि मलेसियामा बसोबास गर्दै आएका अधिकारी प्रवासी नेपाली समुदायका सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएका अभियन्ता हुन्। उनले एनआरएनए मलेसियामा सदस्य, सचिव तथा उपाध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। संस्थागत अनुभवसँगै उनले आफ्नै सामाजिक संस्था स्थापना गरेर विभिन्न सामाजिक तथा मानवीय गतिविधिहरू पनि सञ्चालन गर्दै आएका छन्।
एशिया क्षेत्रमा रहेका लाखौँ नेपाली कामदारको हक–हित संरक्षण, विभिन्न देशमा रहेका नेपाली संघ–संस्थाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित आफू उम्मेदवारीमा उत्रिएको अधिकारीले बताएका छन्।
उनका अनुसार एशियामा रहेका प्रवासी नेपाली, विशेषगरी श्रमिक समुदायले भोगिरहेका समस्याको समाधानका लागि संस्थागत पहल आवश्यक छ। श्रमिकको अधिकार संरक्षण, आपतकालीन अवस्थामा सहयोग प्रणाली सुदृढ बनाउने तथा विभिन्न देशमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सहकार्य बढाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
अधिकारीले एशिया क्षेत्रका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीबीच एकता, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै एनआरएनए अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै एशिया–प्यासिफिक क्षेत्रमा समस्यामा परेका नेपालीलाई सहयोग पुर्याउने उद्देश्यले क्षेत्र लक्षित बृहद् राहत कोष स्थापना गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।
एनआरएनएभित्र लामो समयदेखि काम गरेको अनुभव र सामाजिक क्षेत्रमा निरन्तर सक्रियताका आधारमा आफ्नो उम्मेदवारी एशिया क्षेत्रका अभियन्ताबाट सकारात्मक रूपमा ग्रहण गरिने विश्वास अधिकारीले व्यक्त गरेका छन्। निष्ठा, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै उनले विश्वभर रहेका एनआरएन अभियन्ता, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूसँग साथ, सहयोग र समर्थनको अपिल गरेका छन्।













