एकताको अधिवेशनअघि एनआरएनएभित्र चिन्ता, सर्वसम्मत नेतृत्व चयन गर्न उपाध्यक्ष रेग्मीको आग्रह

news-details

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राज रेग्मीले संस्थाभित्र देखिएको विभाजन अन्त्य गर्दै वास्तविक र दिगो एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

विश्वभरका नेपालीहरूको साझा अभियानका रूपमा स्थापित एनआरएनए पछिल्लो समय मूल उद्देश्यभन्दा विचलित भई पदीय स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र समूहगत अस्वस्थ प्रतिस्पर्धाका कारण विभाजन, अविश्वास र संकटको अवस्थामा पुगेको उनले बताएका छन्। रेग्मीका अनुसार पछिल्ला दुई कार्यकालदेखि संघ स्पष्ट रूपमा दुई धारमा विभाजित भएको छ र एकता कायम गर्न अघिल्ला प्रयासहरू भए पनि पूर्ण तयारीको अभावका कारण सफल हुन सकेका छैनन्।

उनले संस्थालाई पुनर्जीवित गर्न बाह्य आरोप–प्रत्यारोपभन्दा पनि सबै पक्षभित्रबाट सच्चा एकताको भावना जागृत हुनु आवश्यक रहेको बताएका छन्। “जब मन, विचार र सोच मिल्छ, तब समाधानका बाटाहरू आफैँ खुल्छन्,” उनले भनेका छन्।

रेग्मीले नेपालमा देखिएको ‘जेनजी आन्दोलन’ जस्तै समयानुकूल एनआरएनएलाई सही मार्गमा अघि बढाउन युवाहरूको व्यापक सहभागिता र नेतृत्व आवश्यक रहेको पनि उल्लेख गरेका छन्। उनले विगतजस्तो सीमित व्यक्तिहरूको उपस्थितिमा समूहगत भेला गरेर नेतृत्व चयन गर्नुको सट्टा ऊर्जा र नयाँ सोच भएका युवाहरूलाई समेटेर दीर्घकालीन एकताको आधार बनाउनुपर्ने धारणा राखेका छन्।

पूर्वनिर्धारित मितिअनुसार हुने भनिएको एकताको अधिवेशन आउन अब केही दिन मात्र बाँकी रहे पनि आन्तरिक असहमति, प्राविधिक तयारीको अभाव तथा मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण धेरै सदस्यहरू नेपाल आउन असहज रहेको उनले बताएका छन्।

यस अवस्थालाई ध्यानमा राख्दै रेग्मीले सीमित उपस्थितिमा निर्वाचन गरेर नेतृत्व चयन गर्नु उपयुक्त नहुने भन्दै सबै पक्षबीच वार्ता, सहमति र समन्वयमार्फत सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन्। यदि तत्काल सहमति सम्भव नभए सबैको अनुकूल हुने गरी नयाँ मिति तय गरेर वास्तविक र दिगो एकताका लागि एकजुट हुनुपर्ने उनको सुझाव छ।

रेग्मीले विभाजनका कारण संस्थाको गिरेको साख जोगाउन सबै पक्षलाई गुट–उपगुट र आरोप–प्रत्यारोपभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया