गैरआवासीय नेपाली संघद्वारा मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह

news-details

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै इजरायल, इरान, कतार, कुवेत, युएई र बहराइनलगायतका देशहरूमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका विभिन्न देशमा उत्पन्न जटिल परिस्थितिका बीच करिब १९ लाखभन्दा बढी नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर आवश्यक कदम चाल्नु अत्यावश्यक भएको उल्लेख गरिएको छ।

संवेदनशील अवस्थालाई ध्यानमा राख्दै संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै बस्न, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न आग्रह गरिएको छ।

त्यसैगरी, राष्ट्रिय समन्वय परिषद् (एनसीसी), संघको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास तथा सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ। हालको अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्न संघले सुझाव दिएको छ।

संघले नेपाल सरकार, नेपालको परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ। आवश्यक परे नेपाल सरकारसँग सहकार्य गर्न संघ तत्पर रहेको पनि जनाएको छ।

विश्वभर रहेका नेपालीहरूको सुरक्षा साझा प्राथमिकता भएको उल्लेख गर्दै संघले आवश्यक परे समन्वय, सहकार्य तथा सहयोगका लागि सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

अत्यावश्यक सहयोगका लागि संघले ९८०१८६११०० र ९८०१८६११२३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया