एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रोबिन शेरचनले भने- ‘एक मन, एक संगठन’ बनाउछु
- माघ १८, २०८२
- 0
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले सन् २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आइतबार जापानको टोकियोमा आयोजित विशेष कार्यक्रममा उनले ‘सुदृढ संगठन, दरिलो एकतास् हाम्रो अभियान’ भन्ने नारासहित १५ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। आगामी मार्चमा काठमाडौँमा हुने एनआरएनएको १२औँ विश्व सम्मेलनलाई लक्षित गर्दै उनले संस्थाभित्र देखिएको विभाजन अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने मुख्य एजेन्डा अघि सारेका छन्।
जापानलाई कर्मभूमि बनाउँदै आएका शेरचन विगत १५ वर्षदेखि एनआरएनएभित्र विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। उनले पछिल्ला वर्षहरूमा एनआरएनए कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै संस्था पुनः एकताबद्ध गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए। ‘एक मन, एक संगठन’ को अवधारणा अघि सार्दै आन्तरिक कलह र मनमुटाव अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनको घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकता र मताधिकारको विषयलाई विशेष महत्व दिइएको छ। संविधानले दिएको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउन सरकार तथा निर्वाचन आयोगसँग समन्वय गर्ने उनले बताए। सर्वोच्च अदालतको परमादेशअनुसार प्रवासमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न पहल गर्ने उनको भनाइ छ।

त्यसैगरी, भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकारको मुद्दालाई प्राथमिकतामा राख्दै बेलायत सरकारसँग भइरहेको जीटूजी वार्तालाई निष्कर्षमा पुर्याउन एनआरएनएले प्रभावकारी भूमिका खेल्ने उनले बताए। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकहित, सामाजिक सुरक्षा कोषमा आबद्धता र कार्यस्थल सुरक्षाका लागि ‘श्रम डेस्क’ लाई थप प्रभावकारी बनाउने योजना पनि उनले सार्वजनिक गरे।
आर्थिक क्षेत्रमा शेरचनले एनआरएनए डेभलपमेन्ट फन्डलाई २५ अर्ब रुपैयाँ पुर्याउने, साना लगानीकर्तालाई समेत समेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आईपीओमार्फत लगानीमा जोड्ने योजना अघि सारे। साथै, नेपालमा विदेशी तथा एनआरएन लगानी भित्र्याउन कानुनी सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
संस्थागत सुधारअन्तर्गत उनले विधानमा रहेका कमजोरी सच्याउने र निर्वाचन प्रणालीलाई पारदर्शी तथा विवादरहित बनाउने बताए। निर्वाचित भएको छ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रक्रियामा सुधार गर्ने उनको योजना छ।
थाइल्याण्ड, म्यानमारलगायत देशमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड प्रदान गरी नेपालसँग जोड्ने विषय पनि उनको कार्ययोजनामा समावेश छ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष महेश श्रेष्ठसहित विश्वभरका अभियन्ताहरूले शेरचनलाई शुभकामना दिएका थिए। शेरचनले सबै अभियन्तालाई साथ दिन आग्रह गर्दै संस्थाको वृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।













