एनआरएनए एकताको लागि पद त्याग गर्ने महासचिव गौरीराज जोशीको उद्घोष

news-details

गैर आवासीय नेपाली संघ ९एनआरएनए० आइसीसीका महासचिव गौरीराज जोशीले संगठनभित्रको विवाद समाधान र एकता कायम गर्न आफू पद त्याग गर्न समेत तयार रहेको बताएका छन्।

शनिबार जारी गरिएको ध्यानाकर्षण वक्तव्यमार्फत जोशीले नेपाल नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै, “देशले अहिले सुशासन, छिटो आर्थिक विकास र पारदर्शिता चाहेको स्पष्ट देखिएको छ। यो अवसरलाई हामीले चुनौती नभई सम्भावना र अवसरको रूपमा लिनुपर्छ,” भनेका छन्।

जोशीका अनुसार विदेशमा बस्ने नेपाली समुदाय पनि सुशासन र आर्थिक विकासको पक्षधर भएको र यस अवसरलाई सदुपयोग गर्न विभाजन होइन, एकताको मार्ग अवलम्बन गर्नुपर्ने आवश्यकता छ। तर, विगतमा संगठनभित्र देखिएका कमजोरी र विभाजनका कारण वैदेशिक नेपाली आवाज कमजोर बन्दै गएको उनले स्वीकारे।

उनले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा देखिएको विभाजन अन्त्य गर्न विद्यमान दुवै समिति खारेज गरी संस्थापक व्यक्तित्वहरू जस्तै रामप्रताप थापा, भीम उदासलगायतलाई समेटेर एक अस्थायी समिति गठन गर्ने प्रस्ताव राखेका छन्। उक्त समितिलाई नयाँ नेतृत्व छान्ने अधिकार दिने, विवादित एनसीसीहरूमा नयाँ सदस्यता खुला गरी पुनः निर्वाचन गराउने जिम्मेवारी दिने र विधान संशोधनमार्फत संगठनलाई थप पारदर्शी बनाउने कार्यभार सुम्पनुपर्ने उनको सुझाव छ।

जोशीले भने, “एनआरएनएको आधिकारिकता विषयमा सर्वोच्च अदालतमा मुद्दा परेका छन्। ती मुद्दाले तत्काल किनारा पाउने अवस्था छैन। सहमति अनुसार मुद्दा फिर्ता लिएर एकताका आधारमा अघि बढ्नुपर्छ। आवश्यक परे म मेरो पद त्याग गर्न पनि तयार छु।”

उनले विधान संशोधनमार्फत तेस्रो पक्षलाई एमआईएस प्रणाली अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने र विदेशमा बस्ने धेरैभन्दा धेरै नेपालीलाई सहभागी गराएर निर्वाचन गर्न सकिने व्यवस्थामा लैजानुपर्ने धारणा राखेका छन्।

महासचिव जोशीले अन्तिममा नेपाललाई आर्थिक रूपमा सबल बनाउन वैदेशिक लगानीको आवश्यकता झनै बढेको औंल्याउँदै, “यो अवस्थामा हामी फुटेर होइन, जुटेर जानुपर्छ। विदेशमा रहेका नेपालीको भूमिका अझ बढाउनु पर्ने अवस्था छ,” भन्दै सबैलाई एकताको पक्षमा उभिन आग्रह गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया