एनआरएनए संस्थापक अध्यक्ष डा.महतोको आह्वान– ‘मेरो १५० बर्षको इतिहाँस जल्यो तर अव नेपाललाई समृद्ध बनाउन हातेमालो गरौं’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल निर्माणमा जुट्न भावुक आह्वान गरेका छन् ।

हालै जेन–जी पुस्ताका युवाले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित सुरु गरेको आन्दोलनमा राज्यको कठोर दमन देख्दा आफू गहिरो रूपमा विचलित भएको स्मरण गर्दै महतोले निर्दोष युवाको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले नेपाल मेडिसिटी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएका युवाको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि जानकारी दिए ।

‘केही युवा अझै उपचाररत छन् । संकटको बेलामा जे सम्भव थियो, त्यो गर्न हामी प्रयासरत थियौं,’ विज्ञप्तिमा महतोले भनेका छन् । तर आन्दोलनपछि देखिएको हिंसात्मक ताण्डवलाई भने उनले दुःखद र अस्वीकार्य भन्दै त्यसले ऐतिहासिक धरोहर, राज्यका महत्त्वपूर्ण संरचना र असंख्य निजी सम्पत्तिलाई तहसनहस पारेको बताए ।

महतोको आफ्नै करिब १५० वर्ष पुरानो ऐतिहासिक घर पनि त्यसै क्रममा खरानी बन्यो । ‘त्यो घर मेरो सङ्घर्ष, प्रगति र दुःख–सुखको साक्षी थियो । जलेको घरसँगै हजारौँ सपना पनि जले । घर फेरि बनाउन सकिएला, तर त्यस्तो घर अब कहाँ बन्छ र ?’ उनको मर्मस्पर्शी भनाइ छ ।

डा. महतोका अनुसार कोभिडपछि बिस्तारै तङ्ग्रिँदै गरेको मुलुक यो घटनाले फेरि दशकौँ पछाडि धकेलिएको छ । यसको प्रत्यक्ष असर युवा पुस्ता, विशेषगरी जेन–जीको भविष्यमा नकारात्मक ढङ्गले पर्ने उनले चिन्ता व्यक्त गरे ।

सिराहाको एउटा पिछडिएको गाउँमा जन्मेका महतो उच्च शिक्षा र व्यवसायिक सफलता सोभियत सङ्घ, रुस र बेलारुसमा पाए पनि मातृभूमिप्रति आत्मीयता कहिल्यै नहराएको स्मरण गर्छन् । उनले भने, ‘विदेशमा जे जति अवसर पाए पनि मैले कहिल्यै स्थायी बसाइँसराइ सोचिनँ । नेपाली नागरिकता र हरियो पासपोर्ट नै बोकेर, आफ्नै देशलाई समृद्ध भएको देख्ने चाहना लिएर बाँचेको छु ।’

महतोले विश्वभर छरिएर रहेका नेपालीहरूको सामूहिक योगदान देशको शान्ति र समृद्धिमा निर्णायक हुने विश्वास व्यक्त गर्दै हतोत्साहित नभई अझै आत्मविश्वासपूर्वक लगानी र योगदान गर्न आग्रह गरेका छन् ।

‘नेपाल हाम्रो घर हो । देशलाई अहिले तपाईंको झन् धेरै खाँचो छ । सुरक्षित, समृद्ध र सुन्दर नेपाल बनाउन हामी सबै मिलेर अघि बढ्नुपर्छ,’ विज्ञप्तिमा उनले भनेका छन् ।

डा. महतोको आह्वान केवल एउटा व्यापारी वा संस्थापक अध्यक्षको हैसियतले मात्र नभई आफ्नै जीवनको संघर्ष र जलिरहेको घरको खरानीबाट उठेको हृदयविदारक अनुभूति हो, जसले सम्पूर्ण नेपालीलाई समृद्ध नेपालको सपना साकार गर्न हातेमालो गर्न प्रेरित गर्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया