सन्तोष थापा एनआरएनए पश्चिम अष्ट्रेलियाको युवा संयोजकमा विजयी
छोटो समयमै पर्थको नेपाली समुदायमा लोकप्रिय बनेका युवा नेतृत्वकर्ता
- रोजगारमञ्च
- साउन १३, २०८२
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलिया (डब्लुए)को २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा सन्तोष थापा युवा संयोजक पदमा विजयी भएका छन् ।
करिब चार वर्षको ब्रिस्बेन बसाइपछि सन् २०२२ मा पर्थ आएका थापा, छोटो समयमै नेपाली समुदायमा व्यवसाय गर्दै सबैसँग घुलमिल हुन पुगेका थिए । सरल व्यवहार, सक्रियता र प्रतिबद्धताले उनले समुदायको गहिरो भरोसा जित्न सफल भए ।
थापाले आफ्ना प्रतिवद्धतामा युवाको सशक्तिकरणदेखि संस्कृति संरक्षण, खेलकुदमार्फत एकता प्रवद्र्धन, साना व्यवसाय तथा स्टार्टअप प्रवद्र्धनसम्मका विषयलाई प्राथमिकतामा राखेर अघि सारेका थिए । थापा स्पष्ट दृष्टिकोणको परिचायक बने अनि पश्चिम अष्ट्रेलियाका नेपालीको मन जिते ।
उनले आफ्ना प्रतिष्पर्धी नयन बस्नेतलाई ४ सय ६१ मतले पछि पार्दै विजयी हाँसिल गरेका हुन् । उनले निर्वाचित भएपछि थापाले भावनात्मक शब्दहरूमा समस्त समुदायप्रति आभार प्रकट गरेका छन् ।
उनले भनेका छन्–‘ममाथि विश्वास गरेर साथ, समर्थन र मतदान गर्नुहुने सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु, तपाईंहरूको विश्वासले मलाई झन नम्र, जिम्मेवार र समर्पित बनाएको छ ।’

उनले संसारभर रहनु भएका साथीभाइ र परिवारजनको माया, प्रेरणा र समर्थनले यो यात्रालाई सम्भव बनाएको बताएका छन् । ‘यो सफलता केवल मेरो व्यक्तिगत सफलता होइन — यो हामी सबैको सामूहिक सफलता हो, जसले एकता, पारदर्शिता र समावेशितामा विश्वास गर्छौं’ उनले भनेका छन् ।
अब सबै मिलेर युवालाई सशक्त, हाम्रो भाषा–संस्कृति सुरक्षित र समुदायलाई समर्पित सेवामार्फत अझ सुदृढ बनाउने यात्रामा अघि बढ्ने उनले जनाएका छन् ।
एनआरएनए पश्चिम अष्ट्रेलियाको संयोजकमा हरिबंश सञ्जेल (सुमन) विजयी भएका छन् भने एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् ।













