एनआरएनए मलेसियाको अधिवेशन जुलाई २७ मै हुने, विधानका कारण सार्न मिलेन : अध्यक्ष महतो
- साउन ५, २०८२
- 0
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) मलेसियाको अधिवेशन पूर्व निर्धारित मिति जुलाई २७, २०२५ मै हुने भएको छ ।
आइतबार एनआरएनए, एनसीसी मलेसियाका कार्यसमिति बाहिरका अग्रज, पूर्वअध्यक्ष तथा सल्लाहकारहरुको अगुवाईमा भएको एकता अधिवेशन सम्वन्धि बैठकमा जुलाई २७, २०२५ मा आब्हान गरिएको अधिवेशन मिति सारेर अगष्ट ३० र ३१ मा एकता अधिवेशन गर्ने सहमति भएको थियो ।
एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतोले गैरआवासीय नेपाली संघको केन्द्रिय विधान अनुसार जुलाई भित्रै एनसीसीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले जुलाई २७, २०२५ मा अधिवेशन आब्हान गरिएको बताए ।
‘गैरआवासीय नेपाली संघको केन्द्रीय विधानको धारा २४ को उपधारा १ अनुसार हरेक राष्ट्रका एनसीसीहरुले जुलाई भित्रै अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेकाले सोही अनुसार अधिवेशन आब्हान गरेका हौ’ महतोले भने ।
एकता अधिवेशनका लागि भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष महतोले एकतावद्ध भएर अघि बढनुपर्छ भन्ने मनसायले नै आगामी अधिवेशन एकताको अधिवेशन गर्ने साझा सहमतीमा पुगेको बताउदै भने ‘विधानको बाध्यतालाई बुझेर यसैलाई एकताको अधिवेशन बनाउन र भव्यरुपमा सम्पन्न गर्नका लागि यहाँहरु सबैको सहकार्य, सहभागिता र सकारात्मक योगदानको अपेक्षासहित हार्दिक अनुरोध गर्दछौं ।’
साथै एनआरएनए एनसीसी मलेसियाको आफनै पोर्टल नभएकाले आइसीसीको एमआइएस प्रणालीमार्फत भएका सदस्यता नबिकरणलाई मान्यता दिइने संघले जनाएको छ ।
एनआरएनए आइसीसीले मान्यता नदिने भएपछि सबै एनसीसीहरुले धमाधम जुलाई भित्र नै महाधिबेशन गरिरहेका छन् ।













