एनआरएनए अष्ट्रेलिया चुनाव : अध्यक्षका उम्मेदवार ढकाल पक्षमा माहोल बन्दै, एडिलेड र मेलबर्नमा हुँदै प्रचार यात्रा
- रोजगारमञ्च
- साउन ५, २०८२
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहहरूले प्रचार–प्रसारलाई तिव्र बनाएका छन् । यसै क्रममा अध्यक्ष पदका उम्मेदवार भैरव ढकाल नेतृत्वको टिम एकता ले आइतबार सिड्नीमा विशेष भेटघाट कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बोल्दै ढकालले आफू लामो समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समाजको हकहितका लागि निरन्तर क्रियाशील रहेको बताए । प्रवासी नेपालीहरूबीच एकताको खाँचो रहेको उल्लेख गर्दै उनले कर्मभूमिदेखि जन्मभूमिसम्म नेपाली समुदायको शान र सम्मानका लागि आफू र आफ्नो समूह प्रतिवद्ध रहेको स्पष्ट पारे ।
ढकालले निर्वाचनलाई अवसरको रूपमा लिएर कुनै समूह विशेषभन्दा पनि सबै तह र तप्काबाट साथ र सद्भाव मिलेको विश्वास व्यक्त गरे । “मलाई सबै क्षेत्र, वर्ग र समुदायबाट साथ र समर्थन मिलेको छ,” उनले कार्यक्रममै बताए ।
आगामी दिनमा ढकालले आफ्नो प्रचार अभियानलाई अझ व्यापक बनाउँदै जुलाई १९ मा क्यानवेरा, २० मा सिड्नी, २१ मा एडिलेड, २२ मा मेलबर्न, र २३ मा पर्थमा एनआरएनएका अग्रज, सदस्य तथा शुभेच्छुकहरूसँग भेटघाट गर्दै एजेण्डा र दृष्टिकोण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच, आज एडिलेडमा अन्र्तक्रिया कार्यक्रम हुँदैछ भने टिम एकता समूहले मंगलबार मेलबर्नमा मिट एन्ड ग्रिट कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।














