एनआरएनए जापानका अध्यक्ष निउरे भन्छन्— ‘आइसीसीको विवाद जापानले मिलाउने छ’
आइसीसीको अध्यक्षमा शेरचनलाई अगाडि बढाउने उद्घोष
- रोजगारमञ्च
- साउन ४, २०८२
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२ औं महाधिवेशनमा अध्यक्ष नविन निउरेले आफुले नेतृत्व गरेको कार्यसमिति २०२३–२५ ले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेको घोषणा गरेका छन् ।
निउरेले १२ औं महाधिवेशनमा अन्तिम सम्बोधन गर्दै १२ वटै क्षेत्रीय समितिको सहकार्य र ऐक्यबद्धताले एनसीसी जापान सफल भएको उल्लेख गरे । उनले एनआरएनए आइसीसीमा देखिएको विवादका बाबजुद जापान कहिल्यै विचलित नभएको स्पष्ट पारे ।
‘आइसीसीमा देखिएको विवाद अन्त्य होस्, एकता कायम होस्, हामी सबै एक बनौं,” उनले भने, “जापानबाट महेश श्रेष्ठ अहिले एकातर्फबाट आइसीसी अध्यक्ष बन्नुभएको छ, अब उपाध्यक्ष रविन शेरचनलाई अध्यक्ष बनाउँदै आइसीसीलाई जापानले नै मिलाउने छ ।”
निउरेले आउँदो अक्टोबरमा एनआरएनएको एकताको महाधिवेशन हुने जनाउँदै सबैलाई एकताबद्ध हुन आह्वान गरे । ‘हामी विवाद गर्न आएका होइनौं, देश र जनताका लागि केही गर्न आएका हौं,” उनको भनाई थियो ।
उनले आफ्नो कार्यकाल सबैको साथ र सहयोगले सफल भएको भन्दै यसै महाधिवेशनबाट कार्यसमिति विघटन भएको औपचारिक जानकारीसमेत दिए । साथै, संस्थाको खातापाता आजै निर्वाचन समितिमा हस्तान्तरण गरेर पारदर्शिता र इमान्दारिताको थिति बसाल्न सहयोग पुग्ने र आफ्नो कार्यसमिति भंग भएको बताए ।
निउरेले कार्यकालभित्र गरेका काममा सन्तुष्ट रहेको भन्दै सबै सहयोगीहरूलाई आभार व्यक्त गरे ।
एनआरएनए जापानको निर्वाचन आगामी जुलाई २७ तारिख अनलाइन मार्फत हुँदैछ । नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।













