एनआरएनए अष्ट्रेलिया एनसीसी सदस्य पदमा निरौलाको उम्मेदवारी घोषणा
- रोजगारमञ्च
- साउन ४, २०८२
- 0
अष्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली समुदायका अगुवा होमनाथ निरौलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
दुई दशकदेखि नेपाली समुदायसँग जोडिएर सामाजिक, सांस्कृतिक तथा संस्थागत अभियानमा सक्रिय रहँदै आएका निरौलाले अनुभव, भरोसा र सहकार्यका आधारमा २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
एनआरएनए अष्ट्रेलियालाई अझ समावेशी, उत्तरदायी र समुदाय–केन्द्रित बनाउन सम्वाद, सहकार्य र विश्वासको संस्कृति विकास आवश्यक रहेको बताउँदै उनले विभिन्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
वंशजको नागरिकताको निरन्तरताका लागि दबाबमुलक अभियान सञ्चालन, नेपाल सरकारसँग प्रवासीमैत्री नीतिका लागि वकालत, एनसीसी र स्टेट समन्वय परिषद्को समन्वयकारी पुल बन्ने, सबै क्षेत्र र पृष्ठभूमिबाट आएका एनआरएनहरूको बराबरी सहभागिता सुनिश्चित गर्ने, पारदर्शिता र जवाफदेही नेतृत्व कायम गर्ने, भाषा, संस्कृति र पहिचान संरक्षणमा क्रियाशील रहने तथा आपतकालीन अवस्थामा सहयोगी सेवा प्रवाह गर्ने उनका प्रमुख एजेन्डा रहेका छन् ।
निरौलाले यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेपाली नागरिकताको निरन्तरता सम्बन्धी टास्क फोर्स सदस्य र एनआरएनए वेस्टर्न अष्ट्रेलियाको सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् ।
‘म कुनै पदको लागि होइन, समुदायको आवाज, चाहना र आवश्यकताको प्रतिनिधित्व गर्न उम्मेदवार बनेको हुँ’ निरौलाले भनेका छन् । पर्थमा रहेका नेपाली समुदायमा अनुभवी र परिचित निरौला सबैको मन मस्तिक्कमा रहेका छन् ।
निरौलाले सुनिल श्रेष्ठको नेतृत्वमा रहेको ‘टिम समावेशी’ बाट एनसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायसँग सहयोग, सहकार्य र समर्थनको आह्वान गरेका छन्।














