एनआरएनए जापान : अध्यक्ष पदका लागि लामिछाने र श्रेष्ठबीच रोचक प्रतिष्पर्धा
- असार ३०, २०८२
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनए जापानका वर्तमान उपाध्यक्षद्वय लामिछाने र श्रेष्ठले एकै दिन औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेपछि नेतृत्वको प्रतिस्पर्धा झन् रोचक बनेको छ। सबैभन्दा धेरै सदस्य संख्या भएको एनआरएनए जापानको निर्वाचनलाई विश्वभरबाट चासोका साथ हेरिएको छ।
अध्यक्षका उम्मेदवार लामिछानेले एकीकृत नेपाली घर — बहुसांस्कृतिक केन्द्र निर्माण, संघको पुनःसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका विषयमा प्राथमिकता दिने घोषणा गरेका छन् । उनले जापानी भाषा, स्थानीय संघसंस्था र मनोपरामर्श सम्बन्धी निःशुल्क सेवा सञ्चालन गर्ने र जापान आउने नेपाली विद्यार्थीका लागि अभिमुखीकरण तालिम तथा समस्या समाधानमा पहलकदमी गर्ने योजना अघि सारेका छन्।
‘जापानमा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग र राजदूतावाससँग सहकार्य गरिने छ,’ लामिछानेले भने, ‘रोजगार तथा स्वरोजगारमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न सूचनामूलक कार्यक्रम गर्नेछौं। मताधिकार सुनिश्चितताका लागि आइसीसीसँग आवश्यक समन्वय पनि गरिनेछ।’
सन् २००७ मा जापान पुगेका पर्वतका लामिछानेले २२ वर्षको उमेरमा व्यवसाय थालेका थिए। हाल उनी जापानमा सफल व्यवसायीका रूपमा चिनिनुका साथै सामाजिक गतिविधिमा सक्रिय छन्।
यसैगरी, जुलाई १२ मा टोकियोमा आयोजित उम्मेदवारी घोषणा तथा भेटघाट कार्यक्रममा सिद्धार्थ श्रेष्ठले एनआरएनए जापानलाई अझ चुस्त, पारदर्शी र जिम्मेवार बनाउन आफू नेतृत्वमा आउन चाहेको बताएका छन्।
एनआरएनए जापानमा प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्ष रहेका श्रेष्ठ सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। सामाजिक संस्थामा देखिने विकृति र वेथितिप्रति स्पष्ट धारणा राख्दै सुधारमा क्रियाशील श्रेष्ठले ‘बाचा होइन, व्यवहार’मा विश्वास गर्ने व्यक्तिका रूपमा आफूलाई चिनाएका छन्।
श्रेष्ठले सामाजिक अभियानमा दिएको निरन्तरता, समय र योगदानका आधारमा एनआरएनए जापानलाई थप उचाइमा पुर्याउने संकल्प व्यक्त गरेका छन्।
एनआरएनए जापानको १२औं महाधिवेशन यही जुलाई २० गते आइतबार हुनेछ भने निर्वाचन आगामी जुलाई २७ मा तोकिएको छ।













