युवा माझ प्रिय सिग्देलद्धारा एनआरएनए अष्ट्रेलियाको युवा उपसंयोजक पदमा उम्मेदवारी घोषणा
- असार २५, २०८२
- 0
अष्ट्रेलियामा क्रियाशील नेपाली युवाको रूपमा परिचित मनिष सिग्देलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको युवा उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको युवा संयोजकको रूपमा सक्रिय भएर काम गरिरहेका उनले एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकाल २०२५– २०२७ का लागि युवा उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सिग्देलले आफ्नो उम्मेदवारी घोषणा सन्देशमा आफ्ना अनुभवहरू, संघर्षहरू र प्रतिबद्धताहरू भावुक रूपमा व्यक्त गरेका छन् । उनले सन् २०१८ मा नेपाल छोडेर पर्थ विमानस्थलमा पाइला टेकेको दिनदेखि परदेशी जीवनको सामना गर्दै आएपनि आफूले नेपाली समुदायका लागि सेवा गर्न सधै तत्पर रहेको बताएका छन् । उनले भनेका छन्– ‘सेवा केवल काम नभई, म स्वयं हो ।’
उनले आफुलाई नेपाली युवाहरूको प्रतिनिधित्वसँग जोड्दै हरेक नेपालीको संघर्ष, आशा, समस्या र अन्योलमा साथमा रहेको अनुभूति गराउँने प्रतिवद्धता व्यक्त गरेका छन् । एनआरएनएका हरेक अभियानमा जोडिएर काम गरेको र सांस्कृतिक कार्यक्रमदेखि लिएर युवा सशक्तिकरणका कार्यक्रमसम्ममा सक्रिय भूमिका खेलेको उनले बताएका छन् ।
सिग्देलले आफ्नो उम्मेदवारीसँगै चारवटा महत्वपूर्ण संकल्पहरू प्रस्तुत गरेका छन् । पहिलो, एक्लोपन र मानसिक स्वास्थ्यका समस्याहरूलाई सम्बोधन गर्दै पुस्ता र संस्कृतिबीचको पुल निर्माण गर्ने, दोस्रो, युवाहरूलाई नेतृत्व विकास र सीप अभिवृद्धिको प्लेटफर्म दिनु र उनीहरूको आवाज हरेक निर्णय लिने टेबलमा पु¥याउनु, तेस्रो, नेपाली पहिचान र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामा उत्साहका साथ भाषा, पेशागत मार्गदर्शन र सांस्कृतिक समन्वयका अवसरहरू उपलब्ध गराउनु र चौथो, आफूले प्राप्त जिम्मेवारीमा निरन्तर दृढतापूर्वक युवाहरूको आवाज बन्ने र उनीहरूको हितमा लड्ने प्रतिबद्धता उनले गरेका छन् ।
उनले नेपाली समूदायप्रति आफुले गरेको योगदान तथा एनआरएनए अभियानप्रति गरेको समर्पणका आधारमा मत दिन आग्रह गरेका छन । सिग्देलले भने, “म तपाईं जस्तै छु, उही संघर्ष गर्छु, उही सपना देख्छु । म अझैपनि त्यो आगन्तुक नै हुँ, त्यो युवा नै हुँ ।”
सिग्देलको उम्मेदवारीले एनआरएनए अष्ट्रेलियाको युवापुस्तालाई नयाँ आवाज र सक्रिय नेतृत्व प्राप्त हुने अपेक्षा गरिएको छ । उनले उम्मेदवारी घोषणासँगै आफ्नो अनुभव र प्रतिबद्धता मार्फत समुदायका प्रत्येक सदस्यलाई प्रतिनिधित्व गर्ने वाचा गरेका छन ।
उनले नेपाली युवाहरूलाई केवल सामाजिक तथा सांस्कृतिक रूपमा मात्र सशक्त बनाउने मात्र नभई उनीहरूको आवाजलाई वास्तविक स्थानमा पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन । उनको उम्मेदवारीले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूलाई आफ्नो पहिचान र अधिकारप्रति अझ जागरुक बनाउने आशा गरिएको छ ।
एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकालका लागि हुन लागेको निर्वाचनमा सिग्देलको प्रतिबद्धता र सेवा भावले अष्ट्रेलियाका नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।













