स्वास्थ्य उपचारमा सहुलियत दिन काठमाडौं मेडिकल कलेज र एनआरएनए कतारबीच सम्झौता
- रोजगारमञ्च
- जेष्ठ २२, २०८१
- 0
काठमाडौं मेडिकल कलेज र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी), कतारबीच स्वास्थ्य उपचारमा बिशेष सहुलियत प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
कतार भ्रमणमा रहेका मोरङ क्षेत्र नं. ३ बाट संघीय सांसद तथा काठमाडौं मेहिकल कलेजका सञ्चालक सुनिल कुमार शर्माले कतारमा कार्यरत श्रमिक र आश्रित परिवारलाई सहुलियत उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि सम्झौता भएको हो ।
नेपाली राजदूतावासमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको उपस्थितिमा काठकाडौं मेडिकल कलेजका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र एनआरएनए कतारका तर्फबाट अध्यक्ष रमेश भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा कतारमा कार्यरत रहँदा बिरामी भइ उपचारका लागि आर्थिक अभाव भइ नेपाल फर्कनु परेको अवस्था रहेमा अति न्यून आय भएका व्यक्तिहरूलाई एनसीसी कतारले सिफारिस गरेको बिरामीलाई सहुलियतमा उपचार गराउने उल्लेख गरिएको छ ।
उपचारमा एमआरआइ, सिटी स्क्यान, शल्यक्रियाहरूसहित बहिरङ्ग विभागमा आइ जाँच गराउँदा ५० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ । त्यस्तै अस्पतालमा भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुट उपलब्ध हुने, कतारमा काम गर्दै आएका श्रमिकको आश्रित परिवार सदस्यको हकमा अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
उपचारका लागि कतारबाट आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजसम्म बिरामी आउँदा प्रथम पक्षको एम्बुलेन्स प्रयोग गरिएको खण्डमा शुल्क मात्र ५ सय रुपैयाँ मात्र लाग्ने, उपचारको लागि आउने बिरामीले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कतारी आइडीसहित एनसीसीले बिरामीको विवरण खुलाइ सहुलियतमा उपचार गराउन जारी गरेको सिफारिस पत्र अस्पताललाई पेस गर्नुपर्ने जनाइएको छ । पत्रमा बिरामीको नाम, ठेगाना, उमेर, आर्थिक अवस्था स्पष्ट खुलाउनु पर्ने सम्झौता उल्लेख गरिएको छ ।
कतारमा कार्यरत नेपालीको आश्रित परिवार सदस्यको हकमा कतारमा कार्यरत नेपालीको परिचय खुल्ने कागजात र बिरामी सँगको नाता खुल्ने कागजात अनिवार्य पेस गर्नु पर्नेछ ।
एनआरएनए कतारको सिफारिसमा आउने बिरामीहरूको उपचारमा विशेष ध्यान दिइ अस्पतालले उपचार सेवा प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
उक्त सुविधाहरू क्याबिन बाहेक अस्पताल सेवामा मात्र उपलब्ध हुने र औषधी, औषधीजन्य सामग्री, इन्प्लाण्ट, स्टेण्ट, पेसमेकर जस्ता सामानहरूमा सुविधा उपलब्ध नहुने स्पष्ट पारिएको छ । उक्त सम्झौता भएको मितिबाट लागु भइ २०८२ साल असार मसान्तसम्म कायम रहनेछ ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै राजदूत ढकालले अस्पताल परिवारप्रति आभार व्यक्त गरे । ढकालले दूतावासले सदैव श्रमिकका पक्षमा काम गरिरहेको र कतारमा रहेका विभिन्न संघसंस्थासँग समन्वय गर्दै कार्य सम्पादन गरिरहेको बताए ।
आफ्ना भनाइ राख्दै मोरङ क्षेत्र नं. ३ बाट संघीय सांसद समेत रहेका सञ्चालक सुनिल कुमार शर्माले न्यून आय भएका कामदारको उपचारमा अस्पताल व्यवहारिक रूपमा प्रतिवद्ध रहेको बताए ।
न्यून आय भएका श्रमिक र उनका परिवारले समेत लाभ लिन सक्ने हुँदा यो सम्झौता कोशेढुंगा सावित हुने एनसीसी कतारका अध्यक्ष भट्टले जानकारी दिए । उनले एनसीसीले निष्पक्ष रूपमा न्यून आय भए÷नभएको पहिचान गरी सिफारिस गर्ने प्रतिवद्धता व्यक्त गरे । लामो समयदेखि एनसीसीले नेपाल सरकार समक्ष श्रमिक अस्पतालको माग गरिरहेको बताए ।
कार्यक्रममा नियोग उपप्रमुख कुमार राई, नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाईसहित एनआरएनए आइसीसी सदस्य, एनसीसी कतारका सल्लाहकारहरू, एनसीसीका पदाधिकारीको उपस्थिति रहेको थियो ।















