एनआरएनए सचिव गुरुङ उपमहासचिव पदमा माहोल बनाउने दौडाहमा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औँ अधिवेशनमा आइसीसी सचिव प्रविन गुरुङले उपमहासचिव पदमा उम्मेदवारी दिने जानकारी दिदै आफ्नो पक्षमा माहोल सृजना गर्न विभिन्न देश दौडाहमा निस्केका छन् ।

कतारलाई कर्मथलो बनाएका गुरुङ एनआरएनए अभियानलाई निरन्तरता दिदै आगामी कार्यकालका लागि उपमहासचिव पदमा रहेर काम गर्ने निष्कर्षमा पुगेका हुन् ।

केही दिन अगाडि एनआरएनए मलेसियाको अधिवेसनमा सहभागीता जनाएर सिंगापुर, जापान हुँदै युके र अमेरिकामा रहेका एनआरएनहरुसँगको भेटघाटमा निस्केका गुरुङ सबैको सकारात्मक प्रतिक्रिया पाएर उत्साहित भएका छन् ।

२०१५–१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७ –१९ मा मध्यपूर्व उप संयोजक २०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवमा निर्विरोध निर्वाचित भएका गुरुङ एनआरएनए अभियानमा संभावना बोकेका युवा हुन ।

एनआरएनएको यात्रामा गुरुङ अहिलेसम्म सधै पदमा निर्विरोध निर्वाचित भएका छन । आगामी अधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने तयारी थालेका गुरुङले यसपटक पनि निर्विरोध निर्वाचित हुने वातावरण सृजना गरिरहेका छन् ।

आफू खुल्ला हृदयबाट सामाजिक काम गर्न आएकाले एनआरएन अभियन्ताहरुले आफूमाथि बिश्वास गरेको र आगामी दिनमा पनि त्यो बिश्वास टुट्न नदिने गुरुङको प्रतिवद्धता छ ।

गैरआवासीय नेपालीहरुको हकहितका लागि आफूले सक्रिय भएर काम गरिरहेको जनाउँदै गुरुङले गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि आवश्यक रहेको धारणा राख्दछन् ।

एनआरएनए आइसीसी सचिव गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगायतका दर्जनौ सामाजिक कार्य गर्दै आइरहेका छन् ।

गुरुङले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा गुरुङले अग्रसरता देखाएका थिए ।

गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेपछि गैरआवासीय नेपाली संघमा आवद्द भएका हुन । उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्दन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको अन्तर्राष्ट्रिय रेष्टुरेन्ट सञ्चालन गरेका छन । उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत विस्तार गरिसकेका छन । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट, हाईड्रो लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन ।

गुरुङले आफुले सबै एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावलाई स्वीकार्दै सचिवपछि क्रमिक रुपमा उपमहासचिवमा उम्मेदवारी दिएकोले यसमा साथ र समर्थन गरिदिन बिश्वभरका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया