‘एनआरएनएले महिला नेतृत्व खोजेको छ, यसका लागि सक्षम भएर नै म अघि बढेकी हुँ’ –रविना थापा
- अशोज ९, २०७८
- 0
गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि उम्मेदवारी आइरहँदा अमेरिकाबाट वर्तमान महिला उपाध्यक्ष रविना थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । एनआरएनएको इतिहाँसमा पहिलो पटक महिलाले नेतृत्वका लागि आकांक्षा गरेकाले उनको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ । एनआरएनएको आगामी निर्वाचन, मुद्धा र समग्र एनआरएनए अभियानका विषयमा रोजगारमञ्चले थापासँग गरेको कुराकानी :
एनआरएनएको इतिहाँसमा महिला नेतृत्व नपाइरहेको अवस्थामा तपाई अगाडि बढ्नुभएको हो ?
म महिलाको भन्दा पनि समग्रमा सबैको अध्यक्ष हुनका लागि अगाडि बढेको हुँ । २० वर्षसम्म पनि महिला नेतृत्वदायी भुमिकामा नपुगेको र अहिलेको अवस्थामा महिलाहरु पनि सक्षम भइसकेका छन् । महिलाहरुले पनि संस्थालाई हाक्ने भइसकेको हुनाले अब महिलालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।
तपाई वर्तमान कार्यसमितिको महिला उपाध्यक्ष अव स्वभाविक अध्यक्षको उम्मेदवार भन्न खोज्नु भएको हो, तपाईका एजेण्डा के के छन् ?
तपाईले ठीक भन्नु भयो । म अहिले महिला उपाध्यक्ष भएपनि हाम्रो जिम्मेवारी ५ वटै उपाध्यक्षमा बराबर हुन्छ । त्यसमा पनि मैले सबैभन्दा बढी मत ल्याएर बिजयी भएको हुँ । त्यो बाबजुत पनि मैले अहिले महिला अनि युथ डिपार्टमेन्टको हेड भएर पनि काम गरेको छु । मैले वान एनसीसी वान च्यारिटी प्रोजेक्टको संयोजक भएर काम गरेको छु । हरेक एनसीसीमा अहिले महामारीको बेलामा सानो सानो फण्ड उठाएर विदेशमा बस्ने नेपालीलाई शुरुवातमा सहयोग गरेका थियौ । त्यो अलावा हामीले बैदेशिक रोजगारमा खाडी तथा मलेसियामा जानुभएका नेपालीहरुको दुःख तथा समस्यामा साथ दिन सक्यौं । हाम्रो संस्था आफैमा संस्थागत हुनु पनि जरुरी छ । अहिलेको कार्यकालमा हामी आइसकेकपछि हामीले परिवर्तन पनि गरेका छौ । संस्थालाई संस्थागत बनाउनका लागि सिस्टममा हामीले काम गरेका छौ । संस्थामा पैसाको चलखेलमा पद पाउने चलन थियो हामीले त्यो बन्द गरिसकेका छौ । डेलिगेट्सको किनबेच हुन्थ्यो अहिले हामीले डेलिगेट्सको शुल्क नै लगाएको छैन । हामीले थुप्रै विषयहरु अझै कार्यान्वयन गर्न बाँकी छ । जबसम्म हामीले सुरक्षित रोजगार र समृद्धिको आधार ल्याउन सक्दैनौ तबसम्म हामीले केहि पनि गर्न सक्दैनौ । देश विकास जब हुन्छ तब युवाहरु अगाडि आउँछन् । महिला सशक्तिकरण, नागरिकताका निरन्तरता, दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ । यी सबै काम महिलाले मात्र सक्छन् त्यही भएर म अगाडि बढेको हुँ ।
देशमा धेरै रेमिट्यान्स पठाउने तर धेरै अधिकारबाट बञ्चित खाडी तथा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको लागि तपाईको आवाज कस्तो हुन्छ ?
मेरो आवाज एकदम क्लियर छ । बैदेशिक रोजगारमा पठाउने पोलीसीमा नेपाल सरकारले ध्यान दिनुपर्छ । आफ्नो नागरिकको सुरक्षा गर्ने सरकार र हामी एनआरएनएको पनि कर्तव्य हो । त्यसकारणले बैदेशिक रोजगारमा जाँदा उहाँहरुको लाईफ इन्स्युरेन्स, हेल्थ इन्स्युरेन्स, सोसियल सेक्युरिटी अनिवार्य हुनुपर्छ । विदेशमा गएर काम गरेर आफ्नो जवानी विदेशमा दिइसकेपछि यहाँ बुढेसकालमा आउँदा काम पनि गर्न सक्नुहुन्न । नेपाल सरकारले पनि केहि दिदैन । त्यसकारण सोसियल सेक्युरिटी अनिवार्य गर्नुपर्छ । म त के भन्छु भने यी विषय पुरा नभएसम्म नेपाल सरकारले विदेशमा नेपाली कामदार पठाउन हुन्न । जबसम्म हाम्रो माग पुरा हुन्न तबसम्म कामदार नपठाउने हो भने हाम्रो माग झन बढ्छ । अर्कोतर्फ विदेशमा सिकेको ज्ञान र सीपलाई नेपाल सरकारले अझ राम्रोसँग परिचालन गर्न नसकेको अवस्था छ । यसलाई अझ राम्रोसँग परिचालन गराएर सिकेको सीपलाई निरन्तरता दिनुप¥यो । एकजनाले सिकेको सीपले अरु ५जनालाई रोजगारी सृजना हुनुप¥यो । जबसम्म हामीले साना विजनेसहरुलाई सहयोग गर्दैनौ तबसम्म देश विकास हुन सक्दैन ।
तपाईले एनआरएनएको नेतृत्व गर्ने बेला आएको हो ?
अहिलेको एनआरएनएमा वास्तवमै राम्रो उम्मेदवार निस्किएको भए म नेतृत्वका लागि आइरहनु पर्ने थिएन । त्यसकारण म नै सबैभन्दा राम्रो भएको हिसाबले म गर्न सक्छु भनेर अगाडि आएको छु ।
तपाईले एनआरएनएको नेतृत्वको आकांक्षा गरिरहँदा तपाईलाई एनआरएन अभियान धेरै बुझेको छैन भन्ने आरोप लाग्छ नि ?
मैले के बुझेको छैन, सोध्नुहोस् न । म सन् १९९० देखि जापानमा बसेर सामाजिक काम गरेको छु । सेवा गरेको छु । त्यसपछि २००२ मा पनि अमेरिका गएर सामाजिक संस्थामा काम गरेको छु । एनआरएनए २००३ मा जन्मिएको संस्था हो । सामाजिक संस्थामा काम गर्ने भनेको जुनसुकै संस्थामा काम गरेपनि सिद्धान्त एउटै हो । गैरराजनितिमूलक, गैरनाफामूलक संस्था हो । म २०१३ देखि अहिलेसम्म निरन्तर एनआरएनएमा संस्थामा संलग्न छु । पुरानो मान्छेले मात्र यस संस्थामा काम गर्न सक्छ भन्ने त हँुदैन नि । त्यसैले यो सामाजिक काममा बिसौ वर्ष एउटै मानिस टेकाउने काम राम्रो होइन । संस्थामा नयाँ नेतृत्व आइरहनु पर्छ २ बर्षमा आफ्नो एजेन्डा पुरा गर्दै जानुपर्छ । अनि मात्र संस्था राम्रो हुन्छ र गति ल्याउन सक्छ ।
तपाईलाई विश्वभर छरिएर रहेको यति ठुलो संस्थाको नेतृत्व गर्न काबिल छु जस्तो लाग्छ ?
अवश्य पनि छ । म केमा कमजोरी छु र ? तपाईले म महिला भएकोले यो सोध्नुभयो कि ? महिलाहरु पनि अहिले हरेक क्षेत्रमा सक्षम भइसकेका छन् । अर्कोकुरा म अमेरिकामा बसेको महिला हुँ । मलाई हरेक संस्था कसरी चलाउनुपर्छ भन्ने थाहा छ । मैले यो संस्था मात्र होइन धेरै संस्थाहरु चलाइसकेको छु । एनआरएनमा सिस्टम चाहिन्छ त्यो सिस्टम बनाउन सन् २०१३ देखि एनआरएनए कसरी चलाउनु पर्छ भनेर देखिरहेको छु । यो संस्था चलाउनको लागि सबैभन्दा ठुलो इमान्दारीता हुनुपर्छ । इमान्दारीता भयो भने सबै कुरा गर्न सकिन्छ । आफूमा गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ ।
तपाईले उम्मेद्धारीका लागि मात्र उम्मेदवारी घोषणा गरेर अन्तिमसम्म निरन्तरता दिन सक्नुहुन्न भनिन्छ नि ?
म अरुको सोच र भनाईलाई बदल्न सक्दिन तर म अडिक छु । अहिलेसम्म म जस्तो सर्बसाधारण महिलाले नेतृत्व दावी गर्ने हिम्मत नगरेकाले हुन सक्छ तर एनआरएनए भित्र काम गर्न सक्ने जो पनि क्षमता भएको भिजन भएको मान्छे अहिलेको परिवेशमा अध्यक्ष बन्न सक्छ । हिजो मलाई उपाध्यक्षमा त्यत्तिकै अत्याधिक मतले जिताएको त होइन होला, पक्कै पनि भोलिको अध्यक्ष हो भनेरै जिताएको हो । त्यसकारण म उहाँहरुको मतको लागि पनि अध्यक्षको लागि अन्तिमसम्म रहन्छु । नोमिनेशन दिने दिन कुरेर बसेको छु र जितेर देखाउने छु ।
एनआरएनएको अध्यक्ष पदका लागि तपाईसहित अरु पनि चुनावी मैदानमा हुनुहुन्छ, सर्वसम्मत नेतृत्वको लागि पहल भएको छैन ?
तपाईले सही कुरा उठाउनु भयो । सर्वसम्मतको कुरा गर्ने हो भने एक जना उम्मेदवार मेरो दाजु डा. बद्री के.सी हुनुहुन्छ । हामी संस्थागत हिसाबले सँगै काम गरिरहेका छौ । अर्का अध्यक्षका उम्मेदवार कुल आचार्य त मेरो भाई हुनुहुन्छ । एनआरएनए भित्र एउटा मात्र परिवार हुन्छ, हामीभित्र कुनै पार्टी हुँदैन । कुनै वादी हुँदैन । यो परिवारमा एकजना दाजु र एकजना भाई उठ्नुभएको छ । म त एउटा चेली हो । मलाई पक्का थाहा छ यो चेलीलाई दुई दाजुभाईले सर्वसम्मत छोडिदिनुहुन्छ । म उहाँहरुलाई उचित स्थान दिनेछु ।
एनआरएनएभित्र राजनीति छिराउनु हुँदैन भन्नुहुन्छ तर अहिले चुनावी माहोलमा प्रत्यक्ष राजनीतिक दलको चासो छ, तपाई चाँहि कुन पार्टीबाट छिर्दै हुनुहुन्छ ?
म एनआरएनए पार्टीबाट छिर्दैछु । हामीलाई जब नेपाल सरकारले गैरआवासीय नेपाली बनायो तबदेखि हामी एनआरएनए भयौ । एनआरएनए भईसकेपछि चाँहि हामीले गर्ने एनआरएनए पार्टी हो । विभिन्न पार्टीबाट एनआरएनएको मोमेन्टलाई मन पराईदिनुभएको छ त्यो राम्रो कुरा पनि हो । कुनै पनि राजनितिक पार्टीले सहयोग गर्नु नराम्रो कुरा त भएन । पार्टीलाई भोट हाल्न जाने कुरा बेग्लै हो । एनआरएनए सबैको हो । जसले जे भने पनि एनआरएन त्यस्ता छैनन् कसैले भोट देउ भन्दा दिने, सबैले जानेका बुझेका र यो काम कसले गर्न सक्छ भन्ने सबैलाई थाहा छ ।
एनआरएनएले जति कुरा ग¥यो त्यति पुरा त गरेको छैन नि ?
हरेक कुरा राजनीतिमा आएर जोडिन्छ । हामीले उठाएका कति मुद्धा राजनीतिका कारण पुरा हुन पाएका छैनन । किनभने देश बनाउने भनेको राजनीतिज्ञले नै हो । एनआरएनए आफैमा कुनै कार्यान्वयन गर्ने निकाय होइन । सबैले देशको विकासको लागि भनेर सोचिदियो भने राम्रो हुन्छ । जबसम्म हाम्रो देश उत्कृष्ट देश हो भनेर सोच्दैनौ तबसम्म हामी केहि पनि हुन सक्दैनौ । नेपाल सरकारलाई बुझाउन पनि सक्नु पर्छ । मलाई आशा छ सरकारलाई पटकपटक बुझाउन र झक्झक्याउन मेरो पहल रहनेछ ।
अन्त्यमा सम्पुर्ण देश तथा विदेशमा रहेका एनआरएनहरुलाई के भन्न चाहनुहुन्छ ?
म अहिले एनआरएनएको उपाध्यक्ष छु, अहिले अध्यक्षको उम्मेद्वार भइरहेको छु । हामीले नयाँ परिवर्तन गर्नुपर्छ भन्ने थुप्रै कुराहरु गर्यौ तर अब कार्यान्वयन गर्ने बेला आएको छ । एनआरएनएमा सही नेतृत्वका लागि भोट हाल्ने मौका तपाईहरुलाई पनि छ । नयाँ नेतृत्व बिकास गर्नु हाम्रो संस्थाको काम नै हो । अहिलेसम्म अमेरिकाको नेतृत्व एनआरएनएमा आएको छैन अनि महिला नेतृत्व पनि आएको छैन यहाँहरु सबैले मलाई भोट दिनुहुनेछ भन्ने मलाई बिश्वास छ । तपाई हामी मिलेर एनआरएनएलाई अझ राम्रो, उत्कृष्ट, सफल र पारदर्शी बनाउन सकिन्छ भनेर पुर्ण विश्वास दिलाउन चाहन्छु ।














