एनआरएनए अध्यक्षमा अमेरिकाकी रविना थापाको औपचारिक उम्मेदवारी घोषणा

news-details

विश्वभर सञ्जाल रहेको गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने १० औं महाधिबेशन तथा विश्वसम्मेलनमा अध्यक्ष पदका लागि अमेरिकाकी रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । थापाको औपचारिक उम्मेदवारी घोषणासँगै एनआरएनएमा अध्यक्षको दावी गर्ने उनी दोश्रो महिला हुन् ।

एनआरएनएको बर्तमान कार्यसमितिको महिला उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन संघको २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । थापाको उम्मेदवारी अन्योलमा रहेको एनआरएनबृतमा हल्ला चलिरहँदा उनको औपचारिक घोषणाले नयाँ माहोल ल्याएको छ ।

घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् ।’आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ’ उनले भनिन् , ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो, उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ ।’

उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन् । ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहने छ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस् ।’ थापाले भनिन् ।

 

 

थापाले एनआरएनए विवाद परराष्ट्र मन्त्रालयसम्म लैजानु गलत भएको जानकारी दिदै निर्वाचन स्थगित नगरेको र मन्त्रालयले अनुरोध मात्र गरेको बताइन् ।

सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन । ‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो, ‘उनले भनिन्‘ समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ ।’

अहिले एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र सदस्य रहेकोमा आफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउँने लक्ष्य रहेको उनले बताईन् । उनले भनिन् ,‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट बञ्चित छन्, त्यो अधिकार सबैले पाउँनुपर्छ ।’

उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उनको भनाई छ ।

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन् । घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा रसियाका वर्तमान उपाध्यक्ष डा.बद्री केसी, वर्तमान सल्लाहकार कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । यद्यपी औपचारिक अध्यक्षको उम्मेदवारी घोषणा गर्ने थापा पहिलो बनेकी छिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया