एनआरएनए अफ्रिकाद्धारा चितवनको रत्ननगर अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर हस्तान्तरण
- बैशाख ३०, २०७८
- 0
गैरआवासिय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियानमा आज चितवनको रत्ननगर अस्पताललाई १० थान अक्सिजनको सिलिन्डर (रु २ लाख पचास हजारमा) खरिद गरेर हस्तान्तरण गरिएको छ ।
रत्नगर नगरपालिकाका मेयर नारायण वनलाई एनआरएनए सेसेल्सकी अनिता थापाले अफ्रिकाका गैरआवासिय नेपालीहरुकातर्फबाट उक्त अक्सिजन सिलिन्डरहरु हस्तान्तरण गरिकी थिइन ।
हस्तान्तरण समारोहमा मेयर बनले अफ्रिकाका एनआरएनलाई यस बिषम अबस्थामा रत्ननगरलाई सहयोग गरेकोमा आभार ब्यक्त गरेका थिए । सो अवसरमा रत्ननगर अस्पताल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष देबेन्द्र श्रेष्ठ लगायत प्रबुद्ध ब्याक्तीत्वहरुको उपस्थिति रहेको थियो ।
यो पुण्य कार्यको लागि अफ्रिकाका एनआरएनए राष्ट्रिय समितिहरुलाई धन्यवाद ब्यक्त गर्दै एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछनेले थप अक्सिजन सिलिन्डर यस अभियानमार्फत रत्ननगर अस्पताललाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
चितवनका लागि एनआरएनए अफ्रिकाको अक्सिजन आपूर्ति अभियानको संयोजन एनआरएनए सेसेल्सका अध्यक्ष रामप्रसाद पन्तले गरेका छन भने एनआरएनए राष्ट्रिय समन्वय समिती सेसेल्स र घानाले यसको लागि आर्थिक सहयोगको समन्वय गरिरहेका छन ।
एनआरएनए अफ्रिका क्षेत्रका संयोजक रोशन थापाले अक्सिजन नपाएर ठूलो संख्याका नागरिकहरुले देशभर मृत्युवरण गरिरहेको यो दुखद घडीमा थोरै भए पनि अफ्रिकाबासी नेपालीहरुकातर्फबाट सहयोग गर्न खोजीएको बताए । थापाका अनुसार छिटै कैलालीको टीकापुर, बाराको सिमरालगायत पाल्पा, गुल्मी, पुर्वनवलपरासी, स्याङ्जा, पर्सा र इलामलगायतका जिल्लाहरुमा पनि अक्सिजन आपूर्तिको सहयोग हुदैछ । साथै उनले हिजो मात्र पश्चिम नवलपरासीको परासी अस्पतालमा साठी थान सिलिन्डर अक्सिजन हस्तान्तरण गरिएको पनि जानकारी दिए ।
संघका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले मुलत अक्सिजन नपाएर प्रत्येक दिन देशका विभिन्न अस्पतालहरुमा दुई सय भन्दा बढी नागरिकको ज्यान जानू बिडम्बना भएकोले संसारभरका एनआरएनले तत्काल आआफुले गर्न सक्ने अक्सिजन सिलिन्डर सहयोग गरेर अस्पतालहरुमा ढिलो नगरी पुर्याउन अनुरोध गरेका छन । अफ्रिकाका एनसीसीहरुको यो प्रशशनिय कार्यमा थप सहयोग गर्न सबै एनआरएनहरुलाई थापाले आह्वान समेत गरेका छन ।













