एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन सम्पन्न
- मंसिर २१, २०७७
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन शनिबार (डिसेम्बर ५, २०२०) सम्पन्न भएको छ ।
युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारीका लागि अवसर सिर्जना गर्नुपर्ने प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । विदेशबाट फर्केका युवाहरुलाई उनीहरुको सीप क्षमता र दक्षता अनुसारको रोजगारको अवसर सिर्जना गर्न सरकारले धेरै ढिलो गर्नु नहुने भन्दै उहाँले त्यसमा पनि एनआरएनएले सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
सम्मेलनमा विभिन्न ५ सत्रमा बृहत छलफल भएको थियो । २१ औँ शताब्दी र नेपाली युवाका लागि सीप विषयक पहिलो सत्रमा विश्वभरि छरिएर रहेका नेपाली युवाले सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माणमा लगाउने सम्बन्धमा छलफल र बहस भएको थियो ।
एनआरएनए जापानका सदस्य सुरेश गिरीले संयोजन गरेको सत्रमा प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, एनआरएनए आईसीसीका सदस्य खगेन्द्र ढकाल, नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला, राजन कुमार पौडेलले घनीभूत छलफल गर्नुभएको थियो ।
यस्तै सम्मेलनको दोस्रो सत्र अर्थात एनआरएनए दोस्रो पुस्ता र ज्ञान हस्तान्तरण विषयमा उपस्थित प्यानलिष्टहरुले दोस्रो पुस्तालाई पनि नेपालसँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो । गैरआवासीय नेपाली संघ जापानका महासचिव जनक विक्रमको संयोजनमा भएको सत्रमा डा विजय ज्ञवाली, अनिल थपलिया, डा निचोलस भुसाल र डा मनु कार्कीले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
यस्तै नेपालमा एनआरएन युवाका लागि अवसर र चुनौतीहरू विषयक तेस्रो सत्रमा सहभागी वक्ताहरुले नेपालमा रहेका युवाहरुलाई मुलुकमै प्रोत्साहन गर्नुपर्ने बताउनुभएको थियो । सो सत्रका वक्ता पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको मुख ताक्ने भन्दा पनि एनआरएनकै पहलमा नयाँ आइडिया र नविन सोचले नेपालको विकासमा टेवा पुर्याउन सक्ने बताउनुभयो ।
गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेलले संयोजन गर्नुभएको उक्त सत्रमा राजनीतिज्ञ डा सूर्य पाठक, कालिका ग्रुपका सिइओ निकोलस पाण्डे लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
वैज्ञानिक कृषि प्रणाली र नेपाली युवाको सम्भावना विषयक चौथो सत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागको प्रतिनिधित्व गर्दै कृषि विकास मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो । ढकालले संयोजन गरेको सो सत्रमा नेपाली युवाहरुलाई कृषि व्यवसायमा अग्रसर बनाउनको लागि नेपाल सरकारको नीति र कार्यक्रमको बारेमा वक्ताहरुले आफ्नो विचार राख्नुभएको थियो ।
सो क्रममा डिपार्टमेंट अफ हर्टिकल्चर स्कूल अफ नेचुरल रिसोर्स मैनेजमेंट, नजला यूनिभर्सिटीका प्रोफेसर एवं कृषिविद् डा उमेद पुनले ग्रामिण क्षेत्रका युवाहरुलाई कृषि विकास सम्बन्धी अनुसन्धान र शिक्षाको भूमिकाको विषयमा आफ्नो विचार राख्नुभएको थियो । यस्तै कृषि भिजन हाई टेक प्रालिका कार्यकारी निर्देशक राजेन्द्रजंग रायमाझीले आधुनिक कृषि प्रणाली विकासमा युवाको भूमिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
यस्तै सम्मेलनमा एसिया प्रशान्त क्षेत्रबीचको संस्कृति आदानप्रदान सत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम भएका थिए । सम्मेलनको उद्घाटन काठमाडौंस्थित संघको सचिवालयबाट भएको थियो ।
बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई सम्मान
गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलनमा बीबीसीको एक सय प्रभावशाली महिलामध्ये पर्न सफल सपना रोक्का मगरलाई सम्मान गरिएको छ । मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
सो अवसरमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उप क्षेत्रीय संयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो ।
सो क्रममा सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गर्नुभयो । प्राप्त सो रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च गर्ने र सही सदुपयोग गर्ने बताउँदै आयोजकलाई उहाँले धन्यवाद दिनुभयो । भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलनमा डेढ सय भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको सहजीकरण रविन्द शर्माले गर्नुभएको थियो ।















