११ बूँदे निर्णय गर्दै सकियो एनआरएनए आठौं एशिया प्रशान्त क्षेत्रीय बैठक (निर्णयसहित)
- रोजगारमञ्च
- अशोज ११, २०७७
- 0
गैरआवासीय नेपाली संघको आठौ. एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलन सम्पन्न भएको छ । वैठकले ११ बूँदे निर्णय गर्दै नेपालीहरुको सहज घरफिर्ती, पुनःएकीकरण र रोजगारको माग राखेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शनिवार उद्घाटन गरेको वैठकले विदेशमा रहेका नेपालीहरुको सहज घरफिर्तीका लागि हवाई उडान बृद्धि गर्न नेपाल सरकारसंग माग, समस्यामा परेकाको निशुल्क उद्धार तथा आकर्षक श्रम गन्तब्यको खोजी गर्न आग्रह गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतवार पहिलो एसिया प्यासिफिक विज्ञसम्मेलनको उद्घाटन गरेका थिए । २५ देशका २ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा बैठक सफलतापूर्वक सम्पन्न भएको एसिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)ले जानकारी दिए ।
वैठकको मूल विषय ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुनः एकिकरण र रोजगार’ रहेको थियो ।
वैठक तथा सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा
सदस्यहरु, मानार्थ सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
निर्णयहरु :
१. हाल विश्वव्यापक महामारी रुपमा फैलिएको कोभिड १९ का कारण एशिया प्रशान्त क्षेत्रका मुलुकहरु तथा खाडि मुलुक लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई सहज बनाई स्वदेश फर्काउनको लागि हवाई उडान बृद्धि गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ ।
२. कोभिड १९ महामारीका कारण विश्वभरका नेपालीहरु प्रभावित भएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरु तथा खाडि लगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमीमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले गर्दा विदेश मै रोकिएकाको बिनाशर्त वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निशुल्क उद्धार यथाशिघ्र गर्नको लागि नेपाल सरकार संग आग्रह गर्दछ ।
३. वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुको पुनः एकीकरण र रोजगारका लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच स्वदेश मै रोजगार सृजना गर्न सहकार्य गर्ने निर्णय गर्दछ ।
४. परम्परागत बैदेशिक रोजगारीका रुपमा हाल रहेका गन्तब्य मुलुक बाहेक आकर्षक गन्तब्य मुलुकहरु जहाँ पारिश्रमिक राम्रो, कम जोखिम तथा मानब अधिकार तथा सामाजिक सुरक्षाका सुबिधाहरु भएका गन्तब्य देशको पहिचान गरि उक्त देशहरुमा बैदेशिक रोजगार प्रबद्र्धन गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा बैदेशिक रोजगार बोर्ड समक्ष संघ अनुरोध गर्दछ ।
५. मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेकाहरुको सामाजिक सुरक्षा कायम गर्नका लागि सामाजिक सुरक्षाकोषको ग्यारेण्टी गर्न नेपाल सरकारसंग आग्रह गर्दछ ।
६. गैरआवासीय नेपालीहरुको सहकार्यमा श्रमिक सूचना वैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीहरुको डाटा राख्ने व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्दछ ।
७ विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा उपयोग गरी स्वदेश मै रोजगारीको सृजना गर्न यो बैठक सबै गैरआवासीय नेपाललाई आह्वान गर्दछ ।
८. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाहरुको हरेक क्षेत्रमा सहभागिता सुनिश्चित गराउने निर्णय गर्दछ ।
९. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ । विदेशका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।
१०. स्वदेशमा कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि सर्वप्रथम सहयोग तथा तदारुकताका लागि एशिया प्रशान्त क्षेत्रलाई गैरआवासीय नेपाली संघले उच्च मुल्यांकन गर्दै भविष्यमा पनि यसै प्रकारको सहयोगको अपेक्षा गर्दछ ।
११. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषदहरु्, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।














