एनआरएनए कतार : पीडितको सारथी, ६ हजार ५ सय नेपालीलाई सहयोग
- रोजगारमञ्च
- साउन ३२, २०७७
- 0
कतार सरकार तथा विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।
कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकलाई अझै खाद्यान्न वितरण गरिरहेको अध्यक्ष मुसलमानको भनाई छ ।
अहिलेसम्म विभिन्न चरणमा गरी ६ हजार ५ सय ९० कोरोना प्रभावित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिएको उनले बताए ।
कोरोनाले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।
कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।
कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएका नेपालीहरू स्वदेश फर्कनका लागि समेत एनआरएन कतारले सहयोग गर्दै आएको छ । अहिलेसम्म कतारबाट ३० वटा उडानमार्फत ५ हजार ४६५ जना स्वदेश फर्किएका छन् ।
‘मान्छेहरु बाहिर निस्कन डराइरहेको महामारीको अवस्थामा सम्बंधित निकायसँग सम्पर्क तथा सहकार्य गर्दै पीडितहरुको ढोकामा पुगेर राहत उपलब्ध गराउनु अति सहरानीय कामको लागि अध्यक्षज्यु सिङ्गो टिम तथा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद’ फेसबुकमा चिन्तामणी पौडेलले एनआरएन कतारको प्रसंसा गरेका छन् ।
यता कतारकै रामहरी गैरेले भने एनआरएन कतारले सहयोग गरेको नभई दाताहरुको सहयोग भएको बताएका छन् । उनले भनेका छन्–‘ स्मरण रहोस कतार च्यारिटीले दिएको हो, कतार एनाआरएनले उक्त पाएको राहत बाडेको मात्र हो कतार च्यारिटीप्रती नेपाली समुदायको उच्च सम्मान छ ।’
अध्यक्ष मुसलमानले यस राहत वितरणमा एनआरएन परिवारसहित दूतावासका कर्मचारी, उद्धार तथा राहत वितरण समिति संयोजक तथा सदस्य, सञ्चारकर्मी र स्वयंसेवकहरु सक्रिय रहेको भन्दै सबैप्रति धन्दवाद व्यक्त गरेका छन् ।














