कैलालीका हुरीपीडितलाई एनआरएनएद्धारा तात्कालीक राहतस्वरूप पाँच लाख राहत प्रदान

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई तात्कालीक राहतस्वरूप पाँच लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ ।

सहयोग रकम काठमाडौंस्थित केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा जम्मा गरिएको संघले जनाएको छ ।

गत हप्ता कैलाली कञ्चनपुरमा आएको विनाशकारी हुरीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रका खास पीडितलाई सहयोगका लागि उपमहानगरपालिकाले गरेको अनुरोधका आधारमा तात्कालिक राहतस्वरूप सो रकम पठाइएको संघका कोषाध्यक्ष हिक्मत थापाले बताए । थापाका अनुसार संघले थप राहत सहयोग जुटाउन आफ्ना सबै शाखाहरूलाई अनुरोध गरिसकेको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले पीडितका लागि सहयोग पठाएकोमा आभार व्यक्त गर्दै रकम वास्तविक पीडितसम्म पुग्ने प्रतिबद्धता जनाएको थापाले बताए ।

गत बिहीबार साँझ आएको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सयजनाभन्दा बढी घाइते भएका थिए । हुरीले मुक्त कमैया, गरिब–विपन्न दर्जनौं परिवारको घरको क्षति भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया