एनआरएनको लगानीमा निमार्णाधीन म्याग्दीको जलविद्युतका लागि शेयर आह्वान
- रोजगारमञ्च
- फाल्गुन १९, २०७५
- 0
पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि धौलागिरी कालिका हाईड्रोले शेयर लगानीको आह्वान गरेको छ । यो आयोजना गैरआवासीय नेपालीहरुको अगुवाईमा बनिरहेको छ ।
आयोजनाले शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामूहिक लगानी सेमिनारको आयोजना गरी शेयर आह्वान गरेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्वअध्यक्ष, एनआरएन एसिया प्यासिफिकका उपसंयोजक एवं म्याग्दी प्रवासी नेपाली संघका पूर्ववरिष्ठ उपाध्यक्ष विनोद कुँवरको नेतृत्वमा निर्माण गर्न लागिएको आयोजनामा स्थानीयवासीसँगै प्रवासीलाई समेत शेयरका लागि आह्वान गरिएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, महालक्ष्मी, मुक्तिनाथ र ओम डेभलपमेण्ट बैंकसँग वित्तीय व्यवस्थापनको लागि सम्झौता भइसकेको दरबाङ कालिका हाइड्रोका अध्यक्ष कुँवरले बताए । ‘यो आयोजनामा सबै म्याग्दीवासीको लगानी रहोस् भन्ने उद्देश्यले लगानीको दायरालाई फराकिलो बनाएका छौँ, स्वदेशदेखि प्रवाससम्म भएका सबै म्याग्देलीलाई लगानीको लागि आह्वान गरेका छौँ, सबै म्याग्दीवासीको लगानीमा समयमै निर्माण कार्य सम्पन्न गर्ने हाम्रो उद्देश्य छ’, अध्यक्ष कुँवरले भने ।

सामुहिक लगानी सेमिनारको उद्घान गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सङ्घीय सरकारको मातहतमा रहेको जलविद्युतलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले सरकारले बजेट , नीति तथा कार्यक्रम मार्फत पर्यटन, जलविद्युत उत्पादनका लागि अब्बल रहेको जनाए । गण्डकी प्रदेशमा २० हजार बढी मेगावाट क्षमताको विद्युत उत्पादनको भण्डार रहेपनि हाल ४ सय मेगावाट मात्र उत्पादन भैरहेको भन्दै उनले प्रदेश सरकारले विकास निर्माणमा भएका विभिन्न बाधा अड्चन हटाउन आवश्यक पहल गर्ने बताएका थिए । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले हाईड्रो निर्माणका लागि सडकको पनि निर्माण गर्नुपर्ने बताउँदै निर्माणधीन अवस्थामा रहेको धौलागिरी कालिका हाईड्रोको निर्माण अब छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा हाईड्रोका विषयमा उठेका जिज्ञासाको अध्यक्ष विनोद कुँवर र प्रवन्धक हर्कमान घर्तीमगरले जवाफ दिएका थिए । कार्यक्रममा हाइड्रोका अध्यक्ष कुँवरले अध्यक्षता गरेका थिए भने प्रबन्ध निर्देशक घर्तीमगरको स्वागत तथा हाइड्रोका बारेमा जानकारी गराएका थिए ।
कुल पाँच अर्ब १४ करोड लागत रहेको आयोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिनेछ । आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बंैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एक वर्ष अगाडी नै सम्झौता भएको थियो । आयोजनामा दक्षिण कोरिया, हङकङ, युके लगायत विश्वका विभिन्न देशका साथै काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीको म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रर्बधक रहेका छन् ।

रन अफ दि रिभर आयोजना दरबाङदेखि दुई किलोमिटर माथि म्याग्दीखोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाइपबाट हुँदै मालिका र मंगला गाउँपालिकाको सिमानामा अवस्थित बलौटेमा रहने पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । विद्युत खरिद सम्झौता (पिपिए)मा प्राधिकरणले प्रर्बधकसँग वर्षको ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसामा पिपिए गरेको छ । परियोजनाको उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भि.ए. ट्रान्समिटर लाइन हुँदै डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
गत पुषको पहिलो साता मालिका गाउँपालिका–६, दुखुवेँसी (बलौटे) मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले उक्त आयोजनाको विद्युतगृहको शिलान्यास गरिसकेकी छिन् । स्थानीय सातबीम, देवीस्थान र धारापानीको सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजनाको आगामी तीन वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।













