एनआरएनए मध्यपूर्व क्षेत्रीय भेला यूएईमा सुरु, औपचारिक उदघाटन शुक्रबार हुदै
- फणिन्द्र दाहाल
- भदौ ७, २०७५
- 0
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को छैटौ मध्यपूर्व क्षेत्रीय भेला यूएईमा सुरु भएको छ । आज विहिबारबाट दुबईस्थित ग्राण्ड एक्सेलसिअर होटलमा खानेपानी तथा सरसफाई मन्त्री विना मगरको प्रमुख आतिथ्यतासँगै भेला सुरु भएको हो ।
‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार : ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नारासहित सुरु भएको भेला ३ दिनसम्म चल्ने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको ठुलो हिस्सा रहेको यस क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको समस्या समाधान, सुरक्षा तथा सुरक्षित वैदेशिक रोजगारीको विषयमा भेला केन्द्रित हुने बताइएको छ ।
सम्मेलनमा पूर्व श्रममन्त्री रमेश लेखक, श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य, कार्यवाहक राजदूत सागर फुयाल, एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्ट, आईसीसी तथा आरसीसीका पदाधिकारीहरू र मध्यपूर्वका १२ मुलुकका एनसीसी प्रतिनिधि सहभागी छन् ।
मध्यपूर्व संयोजक आरके शर्माको सभापतित्व तथा संघका सचिव डिबी क्षेत्रीले संचालन गरेको आज पहिलो दिनको परिचयात्मक कार्यक्रममा मध्यपूर्वमा रहेका एनसीसीका अध्यक्षहरुले आआफ्नो भनाइ राखेका थिए ।
भेला औपचारिक रुपमा भने भोलीबाट सुरु हुनेछ ।













