विश्वमञ्चमा नेपाली गौरव : एन्जल भण्डारी बनिन् रोबोटिक्स विश्व च्याम्पियन
- जेष्ठ १३, २०८३
- 0
संसार तीव्र गतिमा प्रविधिको युगतर्फ दौडिरहेका बेला नेपाली मूलकी एक किशोरीले आफ्नो असाधारण प्रतिभा, अथक परिश्रम र अदम्य आत्मविश्वासका बलमा विश्वमञ्चमै नेपालको नाम उज्यालो बनाएकी छन् । अमेरिकामा जन्मिएकी दोस्रो पुस्ताकी नेपाली छात्रा एन्जल भण्डारीले प्रतिष्ठित विश्व रोबोटिक्स प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गर्दै विश्व च्याम्पियन बन्न सफल भएकी हुन् ।
यो उपलब्धि केवल एउटा प्रतियोगिताको जित मात्र होइन, प्रवासमा हुर्किएर पनि नेपाली पहिचान, संस्कार र सपनालाई मुटुभित्र जोगाएर विश्वस्तरमा चम्किन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो । एन्जलको सफलताले विश्वभर फैलिएका नेपाली समुदायको शिर गर्वले अझ उँचो बनाइदिएको छ ।
अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउनेल टलबोट विद्यालयमा अध्ययनरत एन्जलले नेतृत्व गरेको टोलीले गत अप्रिल २२ देखि २५ सम्म सेन्ट लुईसमा सम्पन्न विश्वस्तरीय रोबोटिक्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक उपाधि जितेको हो ।
विश्वभरबाट सात हजारभन्दा बढी टोली सहभागी भएको उक्त प्रतियोगितामा ४० भन्दा बढी देशका करिब नौ सय उत्कृष्ट टोली मात्र अन्तिम चरणका लागि छनोट भएका थिए । त्यही कठिन र चुनौतीपूर्ण प्रतिस्पर्धाबीच एन्जलको टोलीले अपराजित २३–० को अविश्वसनीय प्रदर्शन गर्दै विश्व कीर्तिमानसहित उपाधि आफ्नो नाममा पार्न सफल भयो ।
यो सफलताको अर्को महत्वपूर्ण पक्ष के थियो भने टोलीका विद्यार्थीहरूले रोबोटको सम्पूर्ण अवधारणा निर्माणदेखि डिजाइन, कम्प्युटर प्रणालीमार्फत सञ्चालन, परीक्षण तथा व्यवस्थापनसम्मका सबै काम आफ्नै मेहनत र सिर्जनशीलताबाट गरेका थिए । आधुनिक प्रविधिको जटिल संसारमा किशोर–किशोरीहरूले आफ्नै क्षमता र सामूहिक समर्पणबाट हासिल गरेको यो उपलब्धि अहिले विश्वभर चर्चाको विषय बनेको छ ।
छ सदस्यीय टोलीमा एन्जलले संयोजक, रणनीतिकार तथा सञ्चालन नेतृत्वकर्ताको भूमिका निर्वाह गरेकी थिइन् । उनले टोलीका प्राविधिक सदस्यहरूबीच समन्वय कायम गर्नुका साथै रणनीतिक योजना निर्माण, तथ्यांक विश्लेषण, इन्जिनियरिङसम्बन्धी अभिलेख तयारी तथा निर्णायकसमक्ष प्रभावशाली प्रस्तुतीकरणको नेतृत्वसमेत गरेकी थिइन् ।

उनको आत्मविश्वास, नेतृत्व क्षमता र सूक्ष्म विश्लेषण गर्ने शैलीले टोलीलाई केवल विजयी मात्र बनाएन, विश्व रोबोटिक्स क्षेत्रमै उदाहरणीय टोलीका रूपमा स्थापित गरायो ।
एन्जलको प्रतिभा रोबोटिक्समा मात्र सीमित छैन । उनी अन्तर्राष्ट्रिय व्यापार योजना प्रस्तुतीकरण प्रतियोगितामा पनि १० हजारभन्दा बढी प्रतिस्पर्धीबीच अन्तिम चरणसम्म पुग्न सफल भइसकेकी छन् । विज्ञान, प्रविधि, नेतृत्व क्षमता र व्यावसायिक सोचमा समान रूपमा अब्बल देखिएकी एन्जल अब न्यूयोर्कस्थित फोर्डहम विश्वविद्यालयमा विश्वव्यापी व्यापार तथा वित्त विषय अध्ययन गर्ने तयारीमा छिन् ।
एन्जलको सफलतापछाडि उनको परिवारको संघर्ष, मेहनत र दूरदृष्टिको कथा पनि उत्तिकै प्रेरणादायी छ । संखुवासभाको चैनपुरबाट अमेरिका पुगेका उनका पिता ज्ञानेन्द्र भण्डारी अमेरिकास्थित नेपाली समुदायमा परिचित सामाजिक अभियन्ता हुन् । उनी नेब्रास्काको नेपाली समाजका संस्थापक तथा पूर्वअध्यक्षसमेत हुन् ।
नेपालमा कानुन विषयमा स्नातक तह पूरा गरेपछि ज्ञानेन्द्र सन् १९९५ मा उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए । अमेरिकामा उनले कम्प्युटर सञ्जाल इन्जिनियरिङ विषयसमेत अध्ययन गरेका थिए । प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन उनले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
ज्ञानेन्द्र भण्डारी र उनकी श्रीमती स्मृति राना भण्डारीले सन् २००४ देखि नेपाली तथा भारतीय परिकारसम्बन्धी प्रतिष्ठित रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । अमेरिकामा चर्चित उक्त रेष्टुरेन्टमा विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटलगायत चर्चित व्यक्तित्वहरू नियमित रूपमा पुग्ने गरेका छन् ।
एन्जल भण्डारीको यो सफलता केवल व्यक्तिगत उपलब्धि होइन, संसारभर छरिएर रहेका नेपाली मूलका युवापुस्ताका लागि प्रेरणाको उज्यालो दीप बनेको छ । प्रवासको भूमिमा जन्मिएर पनि नेपाली पहिचानलाई आत्मामा सजाएकी एक छोरीले विश्वमञ्चमा नेपालको नाम सुनौलो अक्षरमा अंकित गरिदिएकी छन् ।













