काठमाडौं महानगरले महिला भलिबल खेलाडीलाई दियो जनही एक लाख
- रोजगारमञ्च
- साउन २५, २०८१
- 0
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको छ।
बिहीबार महानगरले खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरेको हो।
सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन्।
खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट छन्।
सम्मान कार्यक्रममा बोल्दै महानगरका मेयर बालेन्द्र साहले सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको बताए।
प्रमुख साहले भने, ‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ । यो विषय छुटेको महसुस गराएको छ । यसमा हामी काम गर्नेछौँ ।’
काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३९२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन्। राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो। खेलमा ५ वटा देश सहभागी थिए। सन् २०१९ मा भएको १३ औँ दक्षिण एसियाली खेलकुदको भलिबल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नु परेको थियो।

सो अवसरमा राष्ट्रिय भलिवल संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।













