नेपाल सुपर लिग : धनगढीलाई हराउँदै ललितपुरले जित्यो उपाधि
- पुस १४, २०८०
- 0
नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
खेलमा अग्रता भने धनगढीले लिएको थियो । खेलको ३८ औँ मिनेटमा ओलावाले अफिजले धनगढीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा इमोह इजेकेइलले ललितपुरका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा आक्रामक खेलको प्रदर्शन गरेको ललितपुरले ५० औँ मिनेटमा दिनेश हेनजानको गोलको मद्दतले अग्रता लियो । आठ मिनेटपछि इजेकेइलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरको अग्रता फराकिलो बनाए ।
खेलको ८० औँ मिनेटमा रिचार्ड आग्येमाङले दोस्रो पहेँलो कार्ड खाएपछि धनगढी १० खेलाडीमा सीमित बन्यो । यसका बावजुद खेलको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीले एक गोल फर्काएका थिए । तर बराबरी गोल फर्काउन निकै ढिला भइसकेको थियो ।
त्यसपछि कुनै गोल हुन सकेन र खेल ललितपुरले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।













