नेपाल सुपर लिग : उपाधिका लागि धनगढी र ललितपुर भिड्दै
- पुस १४, २०८०
- 0
नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् । धनगढी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । सन् २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौं रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेता बनेको थियो । ललितपुर भने पहिलो पटक फाइनलमा पुगेको हो ।
लिग चरणमा ८ खेलमा ३ मा जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौं रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थिए ।
प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले २० लाख रुपैयाँ नगद पाउनेछ ।













