एसियाड तयारीका लागि बक्सिङ टोली आज भारत जाँदै, १ महिना पञ्जाबमा प्रशिक्षण लिने

news-details

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली आज भारतको पञ्जाब प्रस्थान गर्ने भएको छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका आज साढे एक बजे भारत जान लागेको हो ।

पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन् । महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् ।

प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् ।

खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

सो अवसरमा सदस्य–सचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहो¥याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए ।

टर्च -यालीमा दीपक सहभागी हुने

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च ¥यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने छन् ।

सदस्य–सचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च ¥यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।

‘१९ औं एसियाली खेलकुद पनि चीनमा नै हुँदैछ । १६ औं एसियाली खेलकुद पनि चीनमा नै भएको थियो । १६ औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो’ सदस्य–सचिव घिसिङले भने– ‘१६ औं एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च ¥यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ ।’

टर्च ¥यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ । दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया