साफ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल कुवेतसँग ३-१ ले पराजित

news-details

भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको हो ।

बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए ।

२३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्‍यो भने
६५ मिनेटमा तेस्रो गोल गर्‍यो । अनन्त तामाङले पेनाल्टी एरिमा ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

तीन गोलले पछि परे पनि नेपालले आक्रमण भने गरिरह्यो । दोस्रो हाफमा कुवेतको क्षेत्रमा लगातार बल लगेको नेपाल ६७ औं मिनेटमा गोल गर्न सफल भयो ।

कुवेती डिफेण्डर अब्दुल्लाह अलब्लोउसीको गल्तीमा अन्जन विष्टले गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् ।

उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।

साफ च्याम्पियनसिपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा अब शनिबार घरेलु टोली भारतसँग खेल्नेछ । यो समूहमा पाकिस्तान पनि छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया