एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल विजयी, सेमिफाइनलमा ओमानसँग भिडने
- बैशाख १४, २०८०
- 0
सुरुवातमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल कतारविरुद्ध उत्कृष्ट बलिङ गर्दै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन्दीप लामिछानेले अलराउन्डर प्रदर्शन गरेपछि नेपाले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई ६८ रनले हरायो । नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।
जितका लागि नेपालले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा सबै विकेटको क्षतिमा ८९ रनमा समेटिएको थियो ।
कतारका लागि खुर्रम शाहजाद र जाहिर इब्राहिमले समान १५/१५ रन बनाए । अमिर फरिकले १४ रन जोडे । अन्यब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङमा सानदार प्रदर्शन गरेको नेपालका लागि बलिङमा सन्दीप लामिछानेले पाँच विकेट लिए । सन्दीप ‘प्लेयर अफ दि म्याच’ भए । खेलमा सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाए ।
यस्तै कप्तान रोहित पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।बलिङमा कतारका अमिर फारोक्युले चार विकेट लिए । ओईस अहमेदले तीन, ज्ञान मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिए ।
जितसँगै समूह विजेता बनेको नेपालले चार खेलबाट सात अंक बनायो । ६ अंक बनाएको ओमान समूह उपविजेता बन्यो ।
यसैबीच एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।
नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने छ ।
अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन् । कुवेतले हङकङलाई हराएपछि यूएई समूह बीको विजेता बनेको हो ।
फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।













