विश्वकप लिग-२ : पिएनजीमाथि नेपालको सानदार जित

news-details

आइसिसी विश्वकप लिग-२ क्रिकेटमा बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ ।

नेपालले जितका लागि दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी (पिएनजी) ले ४७ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय ४५ रनमात्र बनाउन सक्यो।

टस जितेर पिएनजीले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै आसिफ शेखको शतकको मद्दतले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २ सय ९८ रनको विशाल स्कोर बनाएको थियो।

ठूलो स्कोर पछ्याएको पिएनजीले राम्रो शुरुवात गरे पनि मध्यक्रम चल्न सकेन। पिएनजीका लागि किप्लिन डोरिगाले २६ रन, सेसे बौ ले ३ रन, टोनी उराले ५० रन, चार्ल्स अमिनीले १४ रन, हिरी हिरीले ८ रन, कप्तान असद भालाले ४२ रन, राइली हेकुरेले २० रन, अली नाउले २ रन, नोर्म्यान भानुआले ६० रन बनाए भने सेमो कामिया ५ रनमा अविजित रहे । ​

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट‚ दीपेन्द्रसिंह ऐरीले २ विकेट‚ करण केसी र कुशल मल्लले १ विकेट लिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो नै अहिलेसम्मको उच्च स्कोर हो। यसअघि नेपालले नामिबियाविरुद्ध ४७ दशमलव ४ ओभरमा २ सय ८७ रन बनाएको थियो।

नेपालका लागि आसिफ शेखले शतकीय पारी खेले । १ सय १० बल खेलेका उनले १२ चौका र २ छक्काको मद्दतमा १ सय १० रन जोडे। यस्तै कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ रन बनाउँदा कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ७र७ र करण केसी ८ रन बनाएर आउट भए। सोमपाल कामी ४ रनमा अविजित रहे।

त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पिएनजीसँग २-२ खेल खेल्नेछ।

नेपालले फागुन २८ मा युएईसँग, फागुन २९ मा पपुवा न्युगिनीसँग र चैत २ मा युएईसँग अन्तिम खेल खेल्नेछ।

घरेलु मैदानमा हुने ४ खेल क्लिन स्विप गर्न सके नेपालले शीर्ष तीनमा रहँदै सीधै विश्वकप छनोटमा स्थान बनाउनेछ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया