लिग-२ : यूएईमाथि नेपालको जित, अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लियो
- फाल्गुन २२, २०७९
- 0
आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ ।
सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो ।
युएईका लागि ओपनिङ ब्याट्सम्यान आसिफ खानले ८२ रन, आर्यन लक्राले ५० रन, वृत्य अरविन्दले १३ रन बटुले भने अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए भने करण केसी, सन्दिप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका थिए।
पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७० रन बनाएर आउट भए। नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन, करण केसीले १७ रन, ज्ञानेन्द्र मल्ल ११, आसिफ शेख ६, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरीले ४ रन बनाउदा आरिफ शेखले नटआउट ४३ रन र प्रतिश जिसीले नटआउट ११ रन बनाए ।
बलिङमा युएईका जुनइद सिद्धिकीले ३ विकेट लिए भने रोहान मुस्ताफा र आर्यान लक्राले २-२ विकेट लिए।
जितसँगै नेपालले लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ भने एकदिवसीय मान्यता जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ।
अब नेपालले घरेलु मैदानमा हुने सिरिजका चार मध्ये दुई खेलमा जित हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ।













