रोहितको कप्तानी पारीसँगै स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप
- फाल्गुन ९, २०७९
- 0
लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।
स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ४४.१ ओभरमा भेटाएको हो ।
लगातार विकेट पतनका कारण धरापमा परेको नेपाली पारीलाई कप्तान रोहित पौडेल र करण केसीले जिततर्फ अग्रसर गराएका हुन ।
रोहितले १०१ बलमा अबिजित ९५ रन बनाए भने करणले अबिजित ३१ रन बनाए ।
यसअघि ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल २१ रन बनाएर एलबिडब्लूको धरापमा परे। यस्तै कुशल मल्लले १७ जोड्दा सन्दीप जोरा १ रन, दीपेन्द्रसिंह ऐरी ७ रन र सोमपाल कामी २ रनमै आउट भए । लगातार विकेट गएपछि नेपाल दबाबमा परेको थियो । सन्दीप लामिछाने आठौं विकेटको रुपमा ९ रन बनाएर आउट भए।
बलिङमा स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए। क्रिस ग्रिभ्सले २ विकेट, मार्क वाट, सफयान सरिफ, मिचेल लिस्क र ब्रान्डम म्याकमुलेनले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन, अर्का ओपनर केल कोइटजर २२ रन, कप्तान रिची बेरिङटन शून्य, टोमस म्याकिनटोस १ रन, क्रिस्टोफर म्याकब्राइट २२ रन, म्याथ्यु क्रस ४२ रन र माइकल लिस्कलाई शून्य रनमा आउट भए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट, करण केसीले ३ विकेट, ललित र कुशल मल्लले १-१ विकेट लिए।
लिग-२ मा स्कटल्यान्ड च्याम्पियन बनेको थियो । लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ।
लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना ८ खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ।













