पेलेको आज अन्तिम संस्कार गरिँदै
- पुस १९, २०७९
- 0
एजेन्सी/ विश्व फुटबल कालो मोती लेजेन्ड पेलेको आज अन्तिम संस्कार गरिँदैछ । उनलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन् ।
अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि हिजो सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो ।
तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका छन् ।
पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । उनले पेले शाश्वत भएको भन्दै फिफाले पनि पेलेप्रति उच्च सम्मान गर्ने जानकारी दिए ।
सन् १९४० मा ट्रेस काराकोएसमा जन्मिएका उनको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । सन् १९५६ मा परिवारसहित सान्तोस बसाई सरेका थिए। उनले आफ्नो जीवनको अधिकांश समय सान्तोसमै बिताए ।
२४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा अन्तिम संस्कार हुने । जहा राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थिति रहनेछ ।













