स्वदेश फर्किएका सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ, हत्कडी लगाएर हिरासत लगियो
- अशोज २०, २०७९
- 0
बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।
आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए ।
नेपाल फर्किएर प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका लामिछानेलाई पक्राउ गरेपछि प्रहरीले हतकडीसहित विमानस्थलबाट बाहिर निकालेको थियो । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिएको छ ।
उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।
उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।













