एसिसी महिला टी २० च्याम्पियनसिप: बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

news-details

नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो।

बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्‍यो ।

नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए । नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो।

यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्।

नेपालका लागि कविता कुँवर र सबनाम राईले २-२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्।

खेल निर्धारित समय अनुसार बिहान ८:१५ मा सुरू हुनुपर्ने थियो । तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७/७ ओभरमा छोट्याएको थियो।

समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।

यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ। अब अन्तिम खेलमा नेपालले हङकङसँग खेल्नेछ ।

फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि २० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया