दिपेन्द्रको शतकीय पारीसँगै मलेसिया माथि नेपालको जित, फाइनलमा पिएनजीसँग भिड्ने
- चैत्र १९, २०७८
- 0
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा नेपालले लगातार चौथो जित निकालेको छ।
शनिबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नेपालले मलेसियाविरुद्ध ८५ रनको जित निकालेको हो। घरेलु टोली नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया एक बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो।
उसका लागि विरानदीप सिंहले ४७, कप्तान अहमद फैजले ३३, अइनूल हाफिजले १८ र साएद अजिजले १७ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालका सन्दीप लामिछानेले ३, दिपेन्द्रसिंह ऐरीले र कमल ऐरीले २-२ कुशल भुर्तेल र रोहित पौडेलले एक-एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकीय योगदानसँगै ५ विकेट गुमाएर २ सय २३ रनको सानदार स्कोर खडा गरेको थियो।
बिस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए। रोहित पौडेलले अर्धशतकीय योगदान गरे। उनले ३४ बलमा ५ चौकाको मद्दतले ५१ रन जोडे।
आसिफ शेख १८, मोहम्मद अदिल आलम १४, कुशल भुर्तेल १२ र आरिफ शेख २ रनमा आउट भए।
नेपालले यसअघि मलेसियालाई ६ विकेट, पपुवा न्यूगिनी (पिएनजी)लाई पहिलो खेलमा १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो।
श्रृंखलामा रहेका पिएनजी र मलेसिया दुबैले चारमध्ये एकरएक खेल जितेर समान २ अंक जोडे पनि नेट रनरेटका आधारमा पिएनजीले फाइनलमा स्थान बनाएको हो।
नेपाल र पिएनजीबीचको फाइनल खेल सोमबार हुनेछ।













