रोनाल्डोले बनाए सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान

news-details

एजेन्सी / पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन्।

बुधबार राति विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध दुई गोल गरेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका हुन्।

यसअघि रोनाल्डोले गत असारमा भएको युरो कपमा अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका थिए।

रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्। अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

रोनाल्डोले बुधबार आयरल्यान्डविरुद्ध दुई गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १११ पुर्‍याए। सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका रोनाल्डोले सन् २००४ देखि प्रत्येक वर्ष राष्ट्रिय टिमका लागि गोल गरेका छन्।

उनले बुधबार खेलको ८९ मिनेट र इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए। त्यसअघि आयरल्यान्डका इगनले ४५ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

रोनाल्डोले पहिलो हाफमा पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन्।

रोनाल्डोले दुई गोल गरेसँगै पोर्चुगलले खेल २९१ ले आफ्नो पक्षमा पार्‍यो।

यसअघि दुई महिना अघि भएको युरो कपमा पनि रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए।

पाँच संस्करणको युरो कप खेल्ने र गोल गर्ने एक्ला खेलाडी रोनाल्डो युरोपियन च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया