राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अल्मुताइरीले मागे माफी
- साउन १८, २०७८
- 0
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्ति केवल फुटवल क्षेत्रलाई कसरी सुदृढ गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको स्पष्ट पार्दै उनले सार्वजनिक रुपमा माफी मागेका छन्।
केही दिनअघि प्रशिक्षक अल्मुताइरीले फुटबल क्षेत्र तन्दुरुस्त पार्न खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । त्यसपछि अखिल नेपाल फुटबल संघ ९एन्फाका० वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उनीमाथि कारबाही मागसमेत गरेका थिए । यसै सिलसिलामा प्रशिक्षक अल्मुताइरीसँग चिढिएका एन्फा प्रवक्ता किरण राईले पदबाट राजिनामा दिएका छन् ।
तर, प्रशिक्षक अल्मुताइरीले भने सामाजिक सञ्जाल फेसबुकमार्फत सबैसँग क्षमाचाचना गरेका छन् । उनल लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु ।’
यसअघि उनले भनेका छन्, ‘नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु ।’
साथै, कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिएर काम गर्न पाउँदा निकै खुसी भएको मुख्य प्रशिक्षक अल्मुताइरीले भावना प्रकट गरेका छन् ।













