तेस्रो ‘आइएमई टेनिस प्रतियोगिता’ हुँदै

news-details

आइएमई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना गर्न लागेको छ ।

काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्ने आइएमईले जनाएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको तथा आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध रहेको कम्पनीको भनाई छ ।

खेलाडीहरूको पूर्ण विवरणसहित भरिएका आवेदन फारमहरू यहीँ मिति २०७७ साल चैत १२ (२५ मार्च २०२१) गते विहीवारभित्र माथि उल्लेखित स्थानहरुको साथै [email protected] मा पनि बुझाउन सकिनेछ भने यस सम्बन्धि विस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिदै आइएमईले रितपूर्वक प्राप्त हुन् आएका आवेदनहरूलाई मात्र टाई सीटमा समावेश गरिने जनाएको छ ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गत वर्ष कोभिड– १९ का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिने आइएमईले जानकारी दिएको छ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया