‘नागरिकताको निरन्तरता’का लागि लविङ्ग गर्दै एनआरएनए, परराष्ट्र, कानून र उर्जा मन्त्रीसँग भेटवार्ता
- रोजगारमञ्च
- फाल्गुन ३, २०७९
- 0
गैरआवासीय नेपाली संघले आफ्ना मुद्धालाई तत्काल संवोधन गर्नका लागि नेपाल सरकारलाई आग्रह गरेको छ । अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको संघको टोलीले नेपाल सरकारका मन्त्रीहरुलाई भेटेर एनआरएनएले उठाउँदै आएका मुद्धालाई प्राथमिकतामा राखेर संवोधन गर्न आग्रह गरेको हो ।
एनआरएनए अध्यक्ष कुँवरको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले परराष्ट्र मन्त्री डा.बिमला राई पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधान र उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिंदेनलाई छुट्टाछुट्टै भेटवार्ता गरी एनआरएनएका मागबारे ध्यानाकर्षण गराएको छ ।
भेटमा परराष्ट्र मन्त्री पौडेलले एनआरएनएका माग तथा मुद्धाहरुका बारेमा आफु जानकार रहेको बताउँदै संस्थाभित्र देखिएका विवादलाई मिलाएर आउन आग्रह गरेकि छिन् । उनले एनआरएनए भित्र विवाद राखिराख्ने र आफ्ना समस्या समाधान नगर्ने हो भने एनआरएनएको आवश्यकतामा नै प्रश्न गर्नु पर्ने अवस्था आउने बताएकी छिन् ।
परराष्ट्रमन्त्री पौडेलले एनआरएनएले उठाउँदै आएको नागरिकताको निरन्तरताको विषयलाई आफुले पनि प्राथमिकतामा राखेर पहल तथा लविङ्ग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
परराष्ट्र मन्त्री समक्ष एनआरएनए अध्यक्ष कुँवरले एनआरएनएको आधिकारिकता बारे परराष्ट्र मन्त्रालयले नै निर्णय दिनुपर्ने धारणा राख्दै एनआरएनएको साधारण सभा र कानूनी आधारलाई मान्यता दिनु पर्ने बताएका थिए ।
त्यसैगरी एनआरएनएले कानून मन्त्री धु्रव बहादुर प्रधानलाई भेटी नागरिकता विधेयक छिटो ल्याएर एनआरएनको नागरिकताको समस्या तत्काल फुकाउन आग्रह गरेको छ । भेटमा मन्त्री प्रधानले नागरिकता विधेयकलाई सरकारले प्राथमिकतामा पारेर ४ नम्बर बूँदामा राखेको जानकारी दिदै एनआरएनएले उठाउँदै आएको विषयलाई छिटो संवोधन गरिने आश्वासन दिएका छन् ।
नागरिकता विधेयकलाई राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि अघिल्लो संसदले नागरिकता सम्बन्धी ऐन ल्याउन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही संसदबाट नागरिकता सम्बन्धी ऐन ल्याउने प्रतिवद्धता जनाएपछि कानूनमन्त्री प्रधानले पनि छिट्टै प्राथमिकताका साथ नागरिकता सम्बन्धी ऐन ल्याउने प्रतिवद्धता एनआरएन समक्ष राखेका हुन् ।
त्यसैगरी एनआरएनएले उर्जामन्त्री राजेन्द्र लिंदेनलाई भेटेर आफ्ना मुद्धाका बारेमा जानकारी गराउँदै नेपालमा ग्रिन हाइड्रोजनको प्रवद्र्धन र आवश्यकताका बारेमा अवगत गराएको छ । अध्यक्ष कुँवरले हालसालै सम्पन्न ग्रिन हाइड्रोजन समिटका निष्कर्ष र अवधारणाका बारेमा मन्त्री समक्ष जानकारी गराएका थिए ।
मन्त्री लिंदेनले एनआरएनएका मागलाई सरकारले संवोधन गर्ने प्रतिवद्धता जनाउँदै नेपालमा ग्रिन हाइड्रोजनसम्बन्धी कानून छिट्टै ल्याउने बताए । सरकारले नेपालमा आवश्यक रहेको ग्रिन हाइड्रोजन प्रवद्र्धनका लागि वातावरण बनाउने आश्वासन दिदै सहकार्यका लागि एनआरएनएसँग आग्रह गरेका छन् ।
मन्त्रीहरुसँगको भेटमा एनआरएनएका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा महासचिव जानकी गुरुङ, यूरोप संयोजक उल्का घिमिरे, युवा ब्राण्ड एम्बेसडर दिपक खत्री र प्रमुख कार्यकारी अधिकृत राजेश रानाको सहभागिता रहेको थियो ।













