संस्थापन पक्षले गरेका निर्णय नमान्ने देउवा समूहको निर्णय, आफ्नै प्रक्रियाबाट महाधिवेशन अघि बढाउने

news-details

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर देखिएको विवाद थप चर्किएको छ । शेरबहादुर देउवा समूहले गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय नमान्ने घोषणा गर्दै आफ्नै प्रक्रियाबाट महाधिवेशन अघि बढाउने निर्णय गरेको छ ।

सोमबार बिहान देउवा निवास चुनदेवीमा बसेको समूहको बैठकले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्ने गरी असोज १५ गतेदेखि पार्टीका अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।

संस्थापन पक्षले भने आइतबारको कार्यसम्पादन समिति बैठकबाट १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो ।

तर, देउवा समूहले पुसमा भएको विशेष महाधिवेशनलाई नै अवैधानिक भन्दै त्यसबाट बनेको समितिले गरेका निर्णय स्वीकार नगर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि नेता दीपक खड्काले राजनीतिक छलफल र सहमतिबिना विशेष महाधिवेशनबाट आएको कार्यसम्पादन समितिले गरेका निर्णय आफूहरूले नमान्ने बताए ।

उनका अनुसार समूहले १४औँ महाधिवेशनबाट आएको समितिले तय गरेको कार्यतालिकाअनुसार नै अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । संस्थापन पक्षले एकपक्षीय रूपमा तय गरेको असोज १६ देखि १९ गतेसम्मको महाधिवेशनमा सहभागी नहुने पनि समूहको निष्कर्ष छ ।

महाधिवेशनको तयारीका लागि निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन तथा त्यसलाई पूर्णता दिने निर्णयसमेत बैठकले गरेको छ । समूहले आइतबार नै निर्वाचन समितिको संयोजकमा यगराज पोखरेललाई नियुक्त गरिसकेको छ ।

यसैबीच, पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले त्यसको अन्तिम निर्णय नआएसम्म त्यसलाई समेत ध्यानमा राखेर गतिविधि अघि बढाउने देउवा समूहले जनाएको छ ।

गत पुसमा तत्कालीन केन्द्रीय समितिको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएपछि कांग्रेसभित्र विवाद गहिरिएको हो । देउवा र डा. शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशनलाई अहिलेसम्म स्वीकार गरेका छैनन् ।

विशेष महाधिवेशनपछि बनेको संस्थापन पक्ष र १४औँ महाधिवेशनबाट आएको पुरानो संरचनाबीचको विवाद समाधान गर्न विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

देउवा र शेखर समूहले १५औँ महाधिवेशनका लागि पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने तथा १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई नयाँ संरचनामा समावेश गर्नुपर्ने माग राख्दै आएका थिए ।

संस्थापन पक्षले केन्द्रीय सदस्यसम्बन्धी माग सम्बोधन गरे पनि विशेष महाधिवेशनको वैधानिकतामै प्रश्न उठाउँदै देउवा समूहले आफ्नो छुट्टै कार्यतालिका अघि सारेको हो ।

आफ्ना पछिल्ला निर्णय सार्वजनिक गर्न देउवा समूहले सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया